भारतमा फैलिँदै चाँदीपुरा भाइरस, नेपाल पनि उच्च जोखिममा

भारतमा फैलिँदै चाँदीपुरा भाइरस, नेपाल पनि उच्च जोखिममा

यो भाइरस सार्ने कीट नेपालमा पनि रहेका कारण महामारीको रूप लिन सक्ने


काठमाण्डु-भारतमा चाँदीपुरा भाइरसको सङ्क्रमण फैलिएको छ । चाँदीपुरा भाइससका कारण गुजरात राज्यमा ४४ जनाको मृत्यु भएको छ । भाइरसले सङ्क्रमित बनाउँदा ५४ जना अस्पताल भर्ना भएका छन् ।

गुजरात सरकारका अनुसार हालसम्म १२४ जनामा चाँदीपुरा भाइरस फेला परिसकेको छ । ग्रामीण भेगमा देखिएको यो भाइरस पछिल्लो समय गुजरातको अमदावाद, वडोदरा, राजकोट, सुरत लगायतका ठूला सहरहरूमा पनि फैलिन थालेको छ ।

गुजरात बाहेक राजस्थानमा पनि चाँदीपुरा भाइरसको सङ्क्रमण फैलिन थालेको छ । राजस्थानमा हालसम्म ६ जनामा चाँदीपुरा भाइरसको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ । अन्य ५ जनाको उपचार भइरहेको छ । त्यस्तै मध्यप्रदेश र महाराष्ट्रमा पनि चाँदीपुरा भाइरस देखा परेको छ ।

भारतमा पहिलोपटक १९६६ मा महाराष्ट्र राज्यमा उक्त भाइरसको केस फेला परेको थियो । नागपुरको चाँदीपुरमा भाइरसको पहिचान भएको थियो । त्यसकारण उक्त भाइरसको नाम चाँदीपुरा भाइरस राखियो । त्यसपछि सन् २००४, २००६ र २०१९ मा पनि आन्ध्र प्रदेश, महाराष्ट्र र गुजरातमा उक्त भाइरस देखा परेको थियो ।

यो भाइरस आरएनए भाइरस हो । जुन सबैभन्दा धेरै पोथी प्लेबोटोमाइन प्रजातिको झिङ्गाबाट फैलिन्छ । एडीज एजिप्टी लामखुट्टे पनि यसका लागि कारण मानिन्छ ।

यो भाइरसको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, फ्लू जस्ता लक्षणहरू देखा पर्ने हुन्छ । जसमा बेहोश हुने, कमजोरी हुने जस्ता लक्षण पनि देखिन्छन् ।

सङ्क्रमित लामखुट्टेमा वा किरा फट्याङ्ग्राले टोकेपछि हुने यो भाइरसले शरीरमा प्रवेश गरेपछि व्यक्तिको स्नायू प्रणालीमा आक्रमण गर्छ र व्यक्तिको इन्सेफलाइटिस अर्थात् मस्तिष्कको तन्तुहरूमा सुन्निने समस्या निम्त्याउने गर्छ ।

चाँदीपुरा भाइरसको सङ्क्रमण भएको २४ देखि ४८ घन्टा भित्र बिरामीको मृत्यु गराउँछ । चिकित्सकका अनुसार यसले बालबालिकामा मृत्यु गराउने दर ८५ प्रतिशत रहेको छ ।

नेपालमा पनि उच्च जोखिम

भारतमा तीव्र गतिमा फैलिरहेको चाँदीपुरा भाइरसको जोखिम नेपालमा पनि उच्च रहेको छ ।

नेपालमा यो भाइरसकोे पहिल्यै संक्रमण फैलिलसकेको र भारतवाट नेपाल आवातजावात गर्ने भइरहने कारण संक्रमित व्यक्ति पनि नेपाल आउन सक्छन । डेंगु सार्ने लामखुट्टे एडिस एजिप्टाइ र सेन्फलाइ नामक भुसुनाले यो भाइरस सार्छ । यी दुबै कीट नेपालमा रहेको र तराईका जिल्लाहरुमा यसकोे उच्च जोेखिम रहेको छ ।

यसअघि नै संक्रमण देखिएकाले नेपाल उच्च जोखिममा रहेको इपिडिमोलोजी तथा रोेग नियन्त्रण महाशाखाका पुर्वनिर्देशक तथा जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीले बताए । उनका अुनसार सन् २०१४ मा चाँदीपुरा भाइरसका कारण मोरङमा १२ जनाको मृत्यु भएको थियो । एकैपटक धेरै जनाको मृत्यु भएपछि महाशाखाले नमूना विदेश पठाइ परीक्षण गर्दा चाँदीपुरा भाइरस पहिचान भएको थियो ।

यो भाइरस सार्ने दुवै कीट नेपालमा रहेको कारणले नेपालमा कुनैै पनि बेला महामारीको रुप लिन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए ।

तराइका २४ जिल्ला सहित पहाडी जिल्लाहरु समेत यो संक्रमणको उच्च जोेखिममा रहेको चिकित्सकहरू बताउँछन । यसबाट बच्न भुसुना र लामखुट्टेको टोइकावाट बच्ने, झुलकोे प्रयोग गर्ने, घर नजिकगोेठ नराख्ने, वरिपरिको वातावरण सफा राख्ने, झ्यालढोकामा जाली राख्ने लगायत गर्न चिकित्सकहरु सुझाउँछन् ।