अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’बाट सम्मानित गरेको हो ।

इन्डोनेसियाको परराष्ट मन्त्रालयद्वारा प्रदान गरिएको अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ट व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।

इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच सुवोलोले ढकाललाई काठमाण्डुमा मंगलबार आयोजित एक कार्यक्रममा सम्मान हस्तान्तरण गरेका हुन् ।

सम्मानले नेपाल र इन्डोनेसियाबिच पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान र २ देशबीचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ ।

समारोहमा राजदूत सुवोलोले ढकालको प्रयासले २ देशबीचको सम्बन्ध सुदृढ हुनुका साथै दुवै देशलाई आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए ।

ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबीच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताए ।

नेपाल र इन्डोनेसियाबिच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा २ देशका सरकारी अधिकारीहरूलाई ‘भिसा फ्री’ सम्झौता भएकोमा दुवै देशका सरकारलाई धन्यवाद दिँदै ढकालले ती सम्झौताले २ राष्ट्रबीचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, २ देशबीच हुने सरकारी भ्रमणलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे ।

यसअघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्धार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरूप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो । ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुन् ।