चिकित्सा शिक्षा विधेयक पहिलो कार्यसूचीमा

चिकित्सा शिक्षा विधेयक पहिलो कार्यसूचीमा


काठमाडौं – प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीको रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ ।

उपसमितिको आजको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

उपसमितिले त्यसका लागि समितिका सदस्य भैरवबहादुर सिंहलाई सर्वसम्मतिले संयोजक चयन गरेको छ । बैठकले विधेयकमा संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्न व्यवस्थित कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन दिएको छ ।

बैठकले न्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनको लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सरकारसँग प्रतिवेदन माग्ने निर्णय पनि गरेको छ ।