काठमाण्डु – नेपाल महिला चेम्बरले संस्थापक अध्यक्ष डा. अन्जान शाक्यलाई सम्मान गरेको छ ।
राष्ट्रियसभा सदस्यमा मनोनित डा. शाक्यलाई महिला चेम्बरले सम्मान गरेको छ । डा. शाक्य महिला चेम्बरको संस्थापक अध्यक्ष हुन् ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवं चेम्बर सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठले डा. शाक्यलाई संयुक्त रूपमा सम्मान गरे । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले डा. शाक्यलाई राष्ट्रिय सभाबाट महिला सशक्तीकरणको मुद्दा उठाउन आग्रह गरिन् ।
महिलाको उद्यमशिलता विकासका लागि कानूनी र संरचनागत सुधारको आवश्यकता रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशिलता विकासमा डा. शाक्यको भूमिकाको प्रशंसा गरिन् ।
चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रिय सभामा निजी क्षेत्रको आवाज उठाउन डा. शाक्यलाई सुझाव दिए । महिला चेम्बरमार्फत महिला उद्यमशिलता एवं सशक्तीकरणका लागि चेम्बरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाइ छ । सम्मान कार्यक्रममा चेम्बर सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्यक्ष डा. शाक्यले राष्ट्रिय सभामा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्नु गौरवको विषय भएको टिप्पणी गरे ।
सम्मान ग्रहणपछि डा. शाक्यले महिला सशक्तीकरणका लागि आफूले निरन्तर पहल गर्ने बताइन् । मुलुकको आर्थिक विकासका लागि आफूले निरन्तर पहल गर्ने प्रतिबद्धता उनले जनाइन् ।
प्रतिक्रिया