काठमाण्डु – गत साउन २ गते चितवनको माडी नगरपालिका-९ कुसुम खोलामा चेपाङ बस्तीमा भएको आगजनीको विषयमा वन तथा वातारण मन्त्री शक्ति बस्नेतविरुद्ध प्रचारबाजी भइरहेको छ ।
मन्त्री बस्नेतले चेपाङ परिवारका घरमा नभई मचानहरूमा आगजनी गरिएको भनेर ठोकुवा गरेझै गरी भइरहेको प्रचारबाजीमा कति सत्यता छ ? विषयवस्तु, घटना र भनाइलाई गहन र सन्दर्भसहित नबुझ्दा भ्रम फैलिने मौका पाउँछ ।
संसदको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा चेपाङ बस्तीमा आगजनी गरिएको र घर भत्काइएबारे छलफल गर्न आईतबार मन्त्री बस्नेतलाई बोलाइयो । चर्चामा रहेको घटनाबारे गहन र यथार्थ तथ्य सार्वजनिक गर्नुपर्ने भएकाले वन मन्त्रालयले त्यसअघि नै छानबिन समिति गठन गरिसकेको थियो । तर समितिले मन्त्रालयमा रिपोर्ट बुझाइसकेको थिएन ।
चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र भएको घटना र छानबिन समितिको यथार्थ प्रतिवेदन प्राप्त भई नसकेको अवस्थामा मन्त्री बस्नेतले संसदको समितिमा छलफल गर्नुपर्ने भयो । यस्तो अवस्थामा मन्त्री बस्नेतले प्रारम्भिक सूचनाका आधारमा प्राप्त जानकारी समितिलाई दिए र थप छानबिनपछि यथार्थ विवरण आउने बताए ।
भ्रम फैलिएपछि सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतले भनेका छन्, ‘घर र गोठको सन्दर्भमा मैले भनेको कुरा यो थियो कि चेपाङ बस्तीमा काजीमान प्रजाको परिवार बस्ने घरभन्दा अलग्गै रहेको निजकै गोठमा आगजनी भएको र मकै हेर्नका लागि बनाएका अन्य केही व्यक्तिका मचानहरू समेत भत्काएको भन्ने प्रारम्भिक रिपोर्ट मन्त्रालयमा प्राप्त भएको छ । घटना एवं विषयको गम्भीरता र संवेदनशीलतालाई ख्याल गरेर मन्त्रालयको तर्फबाट तत्काल छानबिन समिति बनाई फिल्डमा खटाइएको र उहाँहरूको रिपोर्ट आइसकेपछि मन्त्रालयको समग्र धारणा समितिमा राख्ने कुरा गरेको थिएँ ।’
मन्त्रालयमा प्राप्त प्रारम्भिक रिपोर्ट र थप छानबिन भइरहेको स्पष्ट अभिव्यक्ति समितिमा दिँदादिँदै सञ्चारमाध्यमले मन्त्रीले ठोकुवा गरेझै गरी समाचार सम्प्रेषण गरे । त्यसपछि मन्त्री बस्नेतविरुद्ध अफवाह फैलाउन सुरू भयो । तर मन्त्री बस्नेतले समितिको बैठकमै मन्त्रालयको समग्र धारणा छानबिनपछि मात्रै आउने बताइसकेका थिए ।
भ्रम र अफवाहबारे मन्त्री बस्नेतले भनेका छन्, ‘मानवअधिकार समितिमा भएको छलफलका क्रममा उठेका विषय सन्दर्भको अंशलाई लिएर कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा आएका समाचार र प्रतिक्रिया हेर्दा आश्चर्य लागेको छ ।’ समाचार र सामाजिक सञ्जालमा एउटा अंशलाई मात्रै उठाएर प्रचारबाजी भएकोप्रति मन्त्री बस्नेतले आश्चर्य जनाएका छन् ।
समितिको बैठकमा मन्त्री बस्नेतले सत्यतथ्य छानबिन र समस्याको समाधानका लागि थुप्रै उपाय र प्रतिबद्धता जनाएका थिए । ‘अझ परिस्थितिको गम्भीरतालाई ध्यान दिँदै मानवअधिकार समितिलाई समेत थप अध्ययनको लागि टीम पठाउनको लागि समेत अनुरोध गरेको थिएँ,’ मन्त्री बस्नेतले भने, ‘परिवर्तित समय र परिस्थितिमा आगजनी र हात्तीको प्रयोग उपयुक्त नहुने धारणा पनि व्यक्त गरेको थिएँ । स्वयं मन्त्रीकै पहलमा मन्त्रालयले छानबिन समिति बनाएर पठाएको अवस्थामा उक्त रिपोर्ट नआउँदै मन्त्रीले आफ्नो निष्कर्ष प्रस्तुत गर्नु उपयुक्त नहुने कुरालाई ध्यानमा राखेर मेरो व्यक्तिगत निष्कर्ष र मन्त्रालयको धारणा समितिमा प्रस्तुत गरिएको थिएन ।’
मन्त्रीले निष्कर्ष प्रस्तुत नगर्दै मन्त्रीको निष्कर्षझै गरी समाचार र सामाजिक सञ्जालमा भ्रमहरू फैलिएका छन् । ‘आज (सोमबार) मात्र समितिको टोली काठमाडौं फर्किएको छ र प्रतिवेदनलाई अन्तिम रुप दिने काममा लागिरहेको छ । अबको २–३ दिनभित्र समितिले प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनसहित विभिन्न क्षेत्रबाट भइरहेको अध्ययनको निष्कर्षहरूलाई समेत ध्यान दिँदै मन्त्रालयले आधिकारिक धारणा प्रस्तुत गर्नेछ,’ मन्त्री बस्नेतले भने, ‘गल्ती कमजोरीको ढाकछोप होइन, उचित कारवाही गर्न मन्त्रालयसहित सरकार प्रतिवद्ध छ ।’
मन्त्री बस्नेतले समितिमा बोलेका विविध पक्षमध्ये एउटा वाक्यको सानो टुक्रा मात्रै टिपेर प्रचारबाजी गर्दा भ्रम फैलिएको देखिन्छ । मन्त्री बस्नेतले समितिमा ‘प्रारम्भिक सूचना मन्त्रालय प्राप्त भएको’ र ‘थप छानबिनपछि समग्र धारणा भन्न सकिने’ भनेर व्यक्त गरेको कुरालाई नजरअन्दाज गरेर अफवाह फैलाइएको छ । मन्त्रीले बोल्दै नबोलेको भावलाई प्रचारबाजी गर्दा भ्रम फैलिएको छ ।
प्रतिक्रिया