सहकारी ठगी प्रकरणमा थुनामा रहेका छविलालको निवेदन सर्वाेच्च अदालतबाट खारेज

सहकारी ठगी प्रकरणमा थुनामा रहेका छविलालको निवेदन सर्वाेच्च अदालतबाट खारेज


काठमाण्डु – पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परी थुनामा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

गैरकानूनी थुनामा राखेको दाबी गर्दै जोशीका छोरा रोचक जोशीले दर्ता गराएको निवेदन न्यायाधीश कुमार रेग्मीको इजलासले दोस्रो सुनुवाइमा खारेज गरेको हो ।

यसअघि असोज २१ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले बन्दीप्रत्यक्षीकरणकै निवेदनमा कारण देखाऊ आदेश जारी गरेको थियो ।

असोज १६ गते न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले निर्देशनात्मक आदेश गर्दै रिट खारेज गरेको थियो । इजलासले प्रहरीलाई ध्यानाकर्षण गराए पनि रिहा गर्न अस्वीकार गरेको भन्दै परिवार पुनः सर्वोच्च पुगेको थियो ।

अदालतले दशैं बिदा सुरु भएकाले अब धरौटी वा तारेखमा छाड्दा पनि हुने भन्दै प्रहरीको ध्यानाकर्षण गराएको भन्दै थुनामुक्त हुनुपर्ने माग गरेका थिए ।

सर्वोच्चले बुधबार सुनुवाइ गर्दै बन्दीप्रत्यक्षीकरणको रिट नै खारेज गरेपछि रिहा गर्ने/नगर्ने सम्बन्धमा अब जिल्ला प्रहरी कार्यालय कास्कीले नै निर्णय गर्नेछ ।

गोर्खा मिडियाका लागि पोखराको सूर्य दर्शन सहकारीबाट लिएको ऋण अपचलनमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । जिल्ला अदालत कास्कीमा एउटा मुद्दा विचाराधीन छ भने पीडितहरूको पूरक जाहेरीका आधारमा अर्को अभियोग पत्र दायर गर्ने प्रयोजनका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सूर्य दर्शन सहकारीको ऋण अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं तत्कालीन गोर्खा मिडियाका कार्यकारी प्रमुख रवि लामिछानेमाथि जाहेरी परेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।