काठमाण्डु-छठ पर्वको दोस्रो दिन आज खरना गरिँदैछ । छठको पहिलो दिन मंगलवार नहाय–खाय सम्पन्न गरेका बर्तालुले बुधवार अर्थात् कात्तिक शुक्ल पञ्चमी तिथिका दिन खरनाको तयारीमा छन् ।
स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खाने गर्छन् । यो विधिलाई खरना भनिन्छ ।
श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खिर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अरु सदस्यले प्रसादको रूपमा खाने गर्छन् ।
आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्छन् । पर्वको तेस्रो दिन बिहीवार अर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ दिनछन् । यसलाई मिथिलामा सझुका अर्घ वा सझियाघाट भनिन्छ ।
त्यसैगरी सप्तमीका दिन बिहान बर्तालुले उदाउँदा सूर्यलाई दोश्रो अर्घ दिएर पर्व समापन गर्ने चलन छ । उदाउँदो सूर्यलाई दिइने अर्घलाई भोरका अर्घ वा पारन भनिन्छ । अर्घ दिँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ ।
छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्तकहाँ पु¥याउन जाने परम्परा छ ।
सामा चकेवा पनि सुरू
यसैबीच मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व सुरू भएको छ । यो पर्व कात्तिक शुक्ल पञ्चमीदेखि शुरू भई १० दिनसम्म मनाइन्छ । ११औँ दिन पूर्णिमामा राति सामा चकेवाको विसर्जन गरी यो पर्वको समापन गरिन्छ ।
बुधवारदेखि १० दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले दाजुभाइको दीर्घायुको कामना गर्दै मिथिलाको हरेक गाउँटोलको चौबाटो, दोबाटो र सार्वजनिक ठाउँमा सामा चकेवा खेल्ने गर्छन् ।
मिथिलाञ्चलकी दिदीबहिनीहरुले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाईको हातबाट माटो खनेर ल्याउने चलन छ । सामा चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्गहरु भरेर सामा चकेवा रङ्गीचङ्गी बनाइन्छ ।
रङ्गिन सामा चकेवालाई राति रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका हरेक चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कूल, धर्मशाला, मन्दिर र छठघाटमा लगेर १० दिनसम्म गीत, नाच गर्दै दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्ने चलन छ ।
सामा चकेवा पर्व खेल्नाले दाजुभाइको सुस्वास्थ्य रहने, आयु लामो हुने र आर्थिक रुपमा समृद्धि हुने तथा दिदीबहिनीहरुप्रतिको सम्बन्ध प्रगाढ हुने जन विश्वास छ ।
प्रतिक्रिया