काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्दै गरेका महत्वपूर्ण मुद्दामा ‘सेटिङ’ भइरहेको उजुरीपछि विशेष अदालतमा कार्यरत तीन न्यायाधीशको सरुवा भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीशहरु चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेलको सरुवा गरेका हुन् ।
आयोगमा डिएसपी श्याम राईको घूस मुद्दा, पोलिमर नोट र पप्पु कन्स्ट्रक्सनका प्रतिवादीले खटाएका बिचौलियासँग न्यायाधीशहरु चण्डीराज , रत्नबहादुर र नारायण पोखरेलले सम्पर्क गरेको उजुरी परेको थियो। न्यायपरिषद्को सहमतिमा प्रधानन्यायाधीश राणाले भ्रष्टाचारको मुद्दा हेर्ने तीन न्यायाधीशलाई सरुवा गरेको न्यायपरिषद्ले जनाएको छ । ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ भने पोखरेललाई राजविराज सरुवा गरिएको हो ।
उनीहरुले न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेकोजस्ता उजुरी प्रधानन्यायाधीश राणासमक्ष परेपछि उनीहरुको अन्य उच्च अदालतमा सरुवा गरिएको बताइएको छ । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कार्यकालमा उनीहरू विशेष अदालतमा न्यायाधीश नियुक्त भएका थिए ।
प्रधानन्यायाधीशको नेतृत्व सम्हालेलगत्तै राणाले आक्रामक रुपमा न्यायालय सुधार गर्ने भन्दै न्यायाधीशहरुको सरुवा र छानबिन गरिरहेका छन् । प्रधानन्यायाधीशमा नियुक्त भएको केही दिनमै राणाले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित केही न्यायाधीशको छानबिन गरिरहेका बताइएको छ ।
स्रोतका अनुसार आइतबार डिएसपी राईको मुद्दाको बकपत्र थियो। उनीविरुद्ध निवेदन दिने ब्यक्तिलाई राईले धम्काएको र आफ्नो माथि सेटिङ भइसकेकोले सफाई पाउने दाबी गरेका थिए।
प्रतिक्रिया