काठमाण्डु – अमेरिकी कंग्रेस (संसद्) को उच्चस्तरीय प्रतिनिधिमण्डलले निर्वासित तिब्बती आध्यात्मिक नेता दलाई लामालाई भेटेको छ। चीनको चर्को आलोचनाबीच टोलीले लामालाई भेटेपछि चीन असन्तुष्ट बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
अमेरिकाको विदेश मामिलासम्बन्धी संसदीय समितिका रिपब्लिकन अध्यक्ष माइकल म्याकल र अमेरिकी कंग्रेसकी पूर्वसभामुख नान्सी पेलोसीसहितको प्रतिनिधिमण्डलले भारतमा निर्वासित लामासँग भेटेपछि अहिले तरंग फैलिएको छ ।
अमेरिकी प्रतिनिधि मण्डल भारतमा आएर लामालाई भेटेको न्युयोर्क टाइम्सले समाचारमा उल्लेख गरेको छ । अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणको सूचना पाएदेखि नै चीनले निन्दा गरे पनि भ्रमण टोलीले आफ्नो यात्रा नरोकेरै मंगलबार दलाई लामालाई भेटेको न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ ।
तिब्बतमा चीनले कब्जा गरेपछि दलाई लामाको टोली सन् १९६० देखि भारतको धर्मशालामा निर्वासित बसिरहेको छ । अमेरिकी प्रतिनिधिमण्डल मंगलबार त्यहीँ (धर्मशाला) पुगेर लामालाई भेटेको समाचारमा उल्लेख छ ।
केही समयअघि अमेरिकी कंग्रेसले लामो समयदेखि चलिरहेको द्वन्द्वका लागि तिब्बती नेताहरूसँग द्विपक्षीय वार्ता गर्न चीनलाई आग्रह गर्ने विधेयक पारित गरेको थियो। त्यसपछि अमेरिकी प्रतिनिधिमण्डल दलाई लामालाई भेट्न भारत निस्किएको समाचारमा उल्लेख छ । चीनले अमेरिकाको यो कदमलाई ‘चीनको आन्तरिक मामिलामा हस्तक्षेप’ भनेर टिप्पणी गरेको छ ।
दिल्लीस्थित चिनियाँ दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै आफूसँग गरेका प्रतिवद्धताहरूको सम्मान गर्दै लामा समूहको चीन विरोधी पृथकतावादी गतिविधिलाई मान्यता दिएर विश्वलाई गलत सन्देश दिन बन्द गर्न अमेरिकासँग आग्रह गरेको थियो।
दलाई लामासँगको भेटपछि अमेरिकी प्रतिनिधिमण्डलका नेतृत्वकर्ता म्याकलले अमेरिका तिब्बतको आत्मनिर्णयको अधिकारको पक्षमा उभिएको बताए।
८८ वर्षीय दलाई लामालाई अमेरिकी अधिकारीद्वारा भेटिएको यो पहिलो पटक भने होइन।
लामासँग भेट्न आएकी पूर्व सभामुख पेलोसीले सन् २०२२ मा ताइवानको भ्रमण गरेकी थिइन्। ताइवान टापु अहिले अलग्गै शासित छ, जसलाई चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको छ।
त्यो भ्रमणपछि पनि चीनले असन्तुष्टि जनाएको थियो। लगत्तै चीनले ताइवानमा व्यापार प्रतिबन्ध लाउँदै टापु नजिकै सैन्य अभ्यास गरेको थियो।
प्रतिक्रिया