सुरु भयो अमेरिका-चीन व्यापार युद्ध, आजदेखि १०४ प्रतिशत कर लागू

सुरु भयो अमेरिका-चीन व्यापार युद्ध, आजदेखि १०४ प्रतिशत कर लागू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकाले चीनबाट आउने सामानमा १०४ प्रतिशत कर लगाउने घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीको एक दिनपछि मंगलबार ह्वाइट हाउसले यो घोषणा गरेको हो ।

‘यदि चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत कर फिर्ता गरेन भने मार्चमा लगाइएको २० प्रतिशत र अप्रिल २ मा थपिएको ३४ प्रतिशत करबाहेक बुधबारदेखि थप ५० प्रतिशत कर लगाइने ट्रम्पले घोषणा गरेका थिए । ‘मैले पहिल्यै चेतावनी दिएको थिएँ कि अमेरिकाविरुद्ध बदला लिने कुनै पनि देशले सुरुको भन्दा धेरै उच्च करको सामना गर्नुपर्नेछ’, चेतावनीयुक्त भाषामा ट्रम्पले भनेका थिए ।

ट्रम्पले अतिरिक्त कर लगाउने चेतावनी दिएपनि चीन आफ्नो अडान कायमै छ। चीनले भनेको छ, ‘अमेरिकाले थप कर बढाएर गल्तीमाथि गल्ती गरिरहेको छ। यो धम्की उसको ब्ल्याकमेलिङ प्रवृत्तिको प्रमाण हो। हामी यो स्वीकार गर्दैनौँ।’ अमेरिकाले जिद्दी गरिरह्यो भने त्यसविरुद्ध अन्त्यसम्म लड्ने चीनले भनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र द पिपल्स डेलीका अनुसार व्यापार युद्ध भए पनि चीन लड्न पूर्ण तयार छ झन् बलियो भएर निस्कनेछ । ‘अमेरिकी करको असर परेपनि आकाश खस्दैन’, द पिपल्स डेलीले लेखेको छ ।

चीनको वाणिज्य मन्त्रालयले अमेरिकाबाट कोष लिने २० कम्पनीका प्रतिनिधिसँग भेट गरेको थियो। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मंगलबार पत्रकारहरूसँग भनिन्, ‘चीनजस्ता देशले अमेरिकी कामदारमाथिको दुर्व्यवहार दोब्बर बनाएर बदला लिने गल्ती गरिरहेका छन्। राष्ट्रपति ट्रम्पसँग स्टीलको मेरुदण्ड छ, उनी झुक्दैनन्।’ उनले थपिन्, ‘चिनियाँहरू सम्झौता गर्न चाहन्छन्, तर कसरी सुरु गर्ने थाहा छैन।’ तर, कर घटाउन ट्रम्पले के सर्त राख्लान् भन्ने कुरा उनले खुलाइनन्।

एसियाली बजारमा पनि यसको असर देखिएको छ। गत वर्ष चीन अमेरिकाको दोस्रो ठूलो आयात स्रोत थियो। उसले ४३९ अर्ब डलरको सामान अमेरिकालाई बेचेको थियो। अमेरिकाले १४४ अर्ब डलरको सामान चीन निर्यात गरेको थियो । यी पारस्परिक करले घरेलु उद्योगलाई असर गर्ने र रोजगारी कटौती हुने जोखिम बढेको छ। ट्रम्पको पहिलो कार्यकालको अन्त्यमा चिनियाँ सामानमा औसत १९.३ प्रतिशत कर लगाइएको थियो।

तत्कालीन बाइडेन प्रशासनले त्यसलाई कायम राखेर थप्दा कर २०.८ प्रतिशत पुगेको थियो। अब बुधबारदेखि यो दर १२५ प्रतिशत सम्म पुगेको छ। अमेरिकाका लागि चीन अझै पनि खेलौना, स्मार्टफोन, कम्प्युटरजस्ता सामानको प्रमुख स्रोत मानिन्छ। यी सामानको मूल्य अमेरिकी उपभोक्ताका लागि चाँडै महँगो हुन सक्छ।

यता, चीनसँग ७६० अर्ब डलर बराबरका अमेरिकी सरकारी बन्ड छन्, जसले उसलाई अमेरिकी अर्थतन्त्रमा प्रभाव पार्ने शक्ति दिन्छ। चीनले आफ्नो तयारी पनि तीव्र बनाएको छ। उसले औद्योगिक क्षेत्रमा १.९ खर्ब डलर ऋण थपेको छ। कारखाना निर्माण र स्तरोन्नति तीव्र पारेको छ। टेलिकम कम्पनी हुवावेले सांघाईमा ३५ हजार इन्जिनियर अट्ने अनुसन्धान केन्द्र खोलेको छ। यो गुगलको क्यालिफोर्निया मुख्यालयभन्दा १० गुणा ठूलो हो। यसबाट चीन प्रविधि र नवप्रवर्तनमा आफ्नो क्षमता बढाउन चाहन्छ भन्ने स्पष्ट हुन्छ।