काठमाण्डु-बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको राजनीतिक पतन पछि अन्तरिम सरकारको चीनसँग निकटता बढ्दै गएको छ । ‘अहस्तक्षेपको सिद्धान्त’मा जोड दिँदै चिनियाँ राजदूत याओ वेनले गरिबीमुक्त र लोकतान्त्रिक रूपमा समृद्ध बंगलादेश निर्माणमा सहयोग गर्ने बंगलादेशको अन्तरिम सरकारलाई आश्वासन दिएका छन् ।
हसिना शासनको अन्त्यपछि मोहम्मद युनुसको नेतृत्वमा बंगलादेशको अन्तरिम सरकार छ । हसिनाको सरकारको पतनपछि अगस्ट ८ मा अन्तरिम सरकार बनेको हो ।
पश्चिमा राष्ट्रहरूले हसिनाको सरकारविरुद्धको प्रदर्शनका क्रममा भएको हिंसाको आलोचना गरेका थिए । हसिनाले सत्ता छोडेको एक दिनपछि चीनले ‘सामाजिक स्थायित्व पुनर्स्थापना गर्ने’ भनाइ मात्र दिएको थियो ।
चीनको कूटनीतिक सक्रियता
चिनियाँ राजदूत याओले बंगलादेशमा बेइजिङको कूटनीतिक पहलको नेतृत्व गरिरहेका छन् । हसिनालाई सत्ताबाट हटाउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका विद्यार्थी नेता र राजनीतिक दलसँग उनले भेटघाट गरिरहेका छन् ।
बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)लाई सम्पर्क गरी चिनियाँ राजदूतले ‘अन्तरदलीय सहयोग र संवाद’ बढाउने वाचा गरेका छन् । सेप्टेम्बर २ मा बंगलादेशको जमात–ए–इस्लामी पार्टीका नेताहरूसँगको बैठकमा याओले यसलाई ‘अनुशासित पाटी’ भनेर वर्णन गरेका थिए ।
जमातले ‘आपसी वार्तालाई निरन्तरता दिने’ आशा पनि व्यक्त गरेको छ । चाखलाग्दो कुरा के छ भने जमातलाई हसिना सरकारले प्रतिबन्ध लगाएको थियो । ढाका ट्रिब्यूनका अनुसार मार्च २०१० पछि कुनै पनि देशका कूटनीतिज्ञ जमातको कार्यालयमा गएका छैनन् । ‘हसिनाको अवामी लिगको नजिकको सहयोगी’ मानिने चीन अहिले अन्तरिम सरकारसँग सहकार्यका लागि छलफल गरिरहेका केही देशको पङ्क्तिमा सामेल भएको बीबीसीको हिन्दी संस्करणमा लेखिएको छ ।
चीनको सरकारी स्वामित्वको ग्लोबल टाइम्सको रिपोर्टअनुसार सेप्टेम्बर १ देखि याओले अन्तरिम सरकारका धेरै सल्लाहकार र जमात–ए–इस्लामी प्रमुख शफिकुर रहमानलाई भेटेका छन् ।
सेप्टेम्बर ५ मा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका थिए, ‘हामी बंगलादेशको अन्तरिम सरकार, राजनीतिक दलहरू र अन्य क्षेत्रहरूसँग सञ्चार र सहयोगलाई बलियो बनाउन चाहन्छौँ ।’ सेप्टेम्बर २५ मा युनुसले संयुक्त राष्ट्र संघको महासभाको बैठकमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरेका थिए । चीनको विदेश मन्त्रालयबाट जारी विज्ञप्तिमा वाङले बंगलादेश छिट्टै स्थायित्वको सही बाटोमा फर्किने आशा व्यक्त गरेका थिए ।
साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार विद्यार्थीहरूले चीनलाई इमान्दार र विश्वासयोग्य भएकोमा धन्यवाद दिएका थिए भने परम्परागत मित्रताको विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास जनाएका थिए ।
विद्यार्थीहरूसँगको सम्बन्ध बढाउन चीनबाट आएको मेडिकल टोलीले ढाकाका अस्पतालहरूमा गएर १६० जना बिरामीहरूलाई उपचार पनि गरेका थिए । चिनियाँ कूटनीतिक कर्मचारीले अगस्ट २५ देखि सेप्टेम्बर ३ सम्म बंगलादेशको बाढी प्रभावित क्षेत्रको भ्रमण गरी रासन वितरण गरेका थिए ।
टोलीले ११ हजार जनालाई भेटेर प्रधानमन्त्री राहत कोषमा २० हजार डलर योगदान ग¥यो । जबकि १ लाख डलर रेडक्रसको बंगलादेश रेड क्रिसेन्ट सोसाइटीलाई दान गरिएको थियो ।
ढाकाबाट प्रकाशित हुने द डेली स्टारका अनुसार चिनियाँ कम्पनीहरूले अन्तरिम सरकारको अवधिमा ८ करोड ५० लाख डलर लगानी गरेका छन् । जसले बंगलादेशको भविष्यको विकासमा चीनको विश्वास देखाएको छ ।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीनले ७ रेलमार्ग, १२ राजमार्ग, २१ पुल र ३१ वटा विद्युत तथा ऊर्जा आयोजना निर्माण गरेको छ । चीन र चटगाउँ बन्दरगाहबीचको नयाँ सिधा समुद्री मार्ग सेप्टेम्बरमा सञ्चालन सुरु भएको छ । यस्तै जियाङ्सी र ढाका बीचको निर्धारित हवाई कार्गो मार्ग पनि खोलिएको छ । बंगलादेश आफ्नो कपडा उद्योगका लागि कच्चा पदार्थको ७० प्रतिशतको लागि चीनमा निर्भर छ र द्विपक्षीय व्यापार २०२२÷२३ मा २४ बिलियन डलर पुग्ने अपेक्षा गरिएको छ, जसमा आयात बजेट २२.९ बिलियन डलर छ ।
डेली स्टारका अनुसार चिनियाँ ऋणमा उच्च ब्याजदरको चिन्ताको बीचमा अन्तरिम सरकारले अक्टोबर १४ मा चीनको नेतृत्वमा रहेको क्षेत्रीय बृहत् आर्थिक साझेदारी (आरसीईपी) बाट सहयोग लिन पहिलो कदम चालेको थियो । यसले बंगलादेशको निर्यात ३.२६ बिलियन डलर र एफडीआई ३.३६ प्रतिशतले वृद्धि गर्नेछ ।
दुई देशको सैन्य सम्बन्ध
ढाका ट्रिब्यून अखबारका अनुसार ऐतिहासिक भ्रमणमा चिनियाँ नौसेना फ्लीट क्यू जिगुआङ र जिङ गाङ्शानले अक्टोबर १२ मा चटगाउँको भ्रमण गरेका थिए ।
चिनियाँ दूतावासले दुवै देशका नौसेना अधिकारीहरूले रक्षा र सुरक्षा सहयोग सुदृढ हुनेमा गहिरो विश्वास व्यक्त गरेको बताएका थिए ।
बंगलादेशका विदेश मामिला सल्लाहकार मोहम्मद तौहीद हुसेनले अक्टोबर १४ मा रक्षा सहयोग बढाउन आह्वान गरे र सशस्त्र बलको आधुनिकीकरणमा चीनको सहयोग मागे । भारतको अङ्ग्रेजी अनलाइन न्यूज १८ का अनुसार भारतीय सरकारी स्रोतले याओको जमातसँगको भेटलाई अनौठो भएको बताएको छ । यता फस्र्टपोस्टले भने यो क्षेत्रीय समीकरणमा आएको परिवर्तन भएकाले जसलाई भारतले बेवास्ता गर्न नसक्ने बताएको छ ।
डेक्कन हेराल्ड अखबारको एउटा लेखमा चीनको ६ अर्ब डलरको ऋणले ढाकाको कुनै पनि सरकारलाई बेइजिङले धेरै प्रभाव पार्ने उल्लेख गरेको छ ।
प्रतिक्रिया