चीन भ्रमणबारे सदनमा जानकारी गराउँदै प्रधानमन्त्री ओली

चीन भ्रमणबारे सदनमा जानकारी गराउँदै प्रधानमन्त्री ओली


काठमाडौ – असार ६ देखि १० सम्म चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री ओलीले त्यसबारे मंगलबार सदनलाई जानकारी दिएका छन्। विदेश भ्रमणबाट फर्केलगत्तै भ्रमण र सन्धि सम्झौताबारे संसदलाई जानकारी गराउने परम्परा अनुसार प्रधानमन्त्रीले सम्बोधन गरेका हुन्।

प्रधानमन्त्रीले चीन भ्रमणका उद्देश पूरा भएकोमा खुसी व्यक्त गरे। भ्रमणअघि संसदमा उल्लेख भन्दा बढी उपलब्धी भएको समेत उनले बताए। ’मैले चीन भ्रमणमा जानुअघिको त्यसको उद्देश्यका बारेमा बताएको थिए’, प्रधानमन्त्रीले भने, ’भ्रमणका उद्देश्यहरु मूलतः पूरा भएको छ।’

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेल मार्ग, ऊर्जा, जलस्रोत लगायत विषयमा सहमति भएको छ। प्रधानमन्त्री ओलीले चीन जानुअघि समेत भ्रमण एजेन्डाबारे सदनलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइएको र उच्च चिनियाँ पक्षबाट चाँडै नेपालको भ्रमण हुने विश्वास व्यक्त गरे।