नेपाल–चीन उराई नाका: ऐतिहासिक, धार्मिक र सांस्कृतिक पृष्ठभूमिमा सहज आवागमन आवश्यक

नेपाल–चीन उराई नाका: ऐतिहासिक, धार्मिक र सांस्कृतिक पृष्ठभूमिमा सहज आवागमन आवश्यक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– श्याम बहादुर खड्का

नेपालको सुदूरपश्चिम प्रदेशको उत्तरी भेगमा रहेको जिल्ला बझाङ, चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिन्छ । यससँग जोडिएको साईपाल गाउँपालिका हाल नेपालतर्फको सीमानाको प्रमुख सरकारी निकाय हो ।

साईपाल गाउँपालिकाको धुलीमा प्रहरी चेकपोष्ट रहेको छ । यही बाटो भएर चीनसँग जोडिएको मुख्य नाका उराईलेक हो र चीनपट्टि यो पुराङ काउन्टीको जिदैकोट र ताक्लाकोटमा निस्कन्छ । यो बाटो परापूर्व कालदेखि चलनचल्तीमा थियो ।

पहिले बझाङका मानिसहरूको जनसंख्याको ठूलो भाग बर्सेनि वर्षात्को ऋतुमा भोटतर्फ जान्थ्यो । निर्वाध कैलाश मानसरोवर आवतजावत गर्न पाउने हुँदा कति मानिस त दोहोर्‍याई तेहर्‍याई जाने गर्थे । हिउँद माल (तराई) तथा बर्खा भोटको कहावत अनुसार स्थानीय मानिसहरूको आवतजावतले समेत यो मार्ग अति व्यस्त थियो । तीर्थ यात्रासँगै चीन र नेपालबीच यस नाकाबाट प्रशस्त व्यापार हुन्थ्यो । भोट तिरका मानिसहरू त्यही बाटो भएर भेडा र चौंरीहरूमा ऊन र नून लिएर नेपालतर्फ आउँथे ।

उराईलेकको तल फेदीमा नेपालतर्फ साइपाल चौरमा बजार लाग्थ्यो । कैलाश मानसरोवर जान नचाहने यात्रुहरू आफूलाई चाहिने नून, ऊन त्यहीँबाट किनेर फर्कन्थे ।

बझाङको यो बाटो हुँदै करीब १ हजार वर्ष अगाडि लाँगा देवता कैलाश, मानसरोवरतर्फ आएका थिए । उनको साथमा बाँठपाला देवता र अन्य सहयोगीहरू पनि थिए । उनले नयाँ पहिल्याएको बाटो ब्रह्मदेउ, जोगबुढा, तेलेको धुरा, गैरीडोटी (घटाल थान) डडेलधुरा, ढुँगाड, फडिल्या, देउरा, झनाना, बान्नी, मेल्लेक, सुबेडा, रिठापाटा, कुमाल्तडो (चैनपुर), सुनिकोट, धलौन, धुली, साईपाल, उराईलेक, जिदैकोट हुदै ताक्लाकोट पुग्थ्यो । यसलाई पुर्खाहरूले यो बाटो चीनको तिब्बतमा पर्ने रेशम मार्गको सहायक मार्ग भन्ने गर्थे ।

महाभारत युद्धपछि हरिद्वारमा स्नान गरेर यो मार्ग भएर पाण्डवहरू कैलाश मानसरोवरतर्फ गएका थिए । बझाङमा खेलिने प्रसिद्ध पर्व खेल भुवोलाई पनि यही बाटोबाट आएको गाथा गाएर सेती नदीको वारिपारिका मानिसहरू मानसरोवरतर्फ पुर्‍याई आफ्नो गाउँसम्म पुर्‍याएको गाथा भन्ने गर्छन् । लाँगा देवता हिँडेका यो बाटो धेरै सय वर्षसम्म मानिसहरू आवतजावत गर्दथे । यहीँबाट व्यापार गरिन्थ्यो । हाल पनि मानिसहरूको के विश्वास छ भने देवीदेवताहरू वर्षात्मा पहाडतर्फ आउँदा र हिउँदमा मैदानी भूभागतर्फ झर्दा यही बाटो प्रयोग गर्छन् । पूजा कार्यका लागि हरिद्वार आवतजावत गर्नु परेमा अहिले पनि मानिसहरू पैदल यही बाटो प्रयोग गर्छनु ।

तत्कालीन अवस्थामा मैदानी भूभागतर्फ झर्ने यो बाटो सबैभन्दा छोटो र उपयुक्त मानिन्थ्यो । तेलेको लेकबाहेक यो बाटोमा ठूला डाँडा वा पहाड पर्दैनथे । सवारीसाधन नचल्दासम्म यो प्राचीन बाटो अति व्यस्त थियो र यही बाटोमा देवी देवताका प्राचीन देवस्थल रहेका छन् । यही कारणले यो बाटोमा पुराना बस्तीहरू समेत विकसित भएका थिए । त्यस ताका महाकाली किनारको ब्रह्मदेव बजार गुलजार थियो, जहाँ हाल खण्डहर देख्न सकिन्छ । हाल यो मार्ग सुनसान छ ।

हाम्रा पुर्खा बाउबाजेहरू पुराँस जाने भनेर त्यसतर्फ पुराङ भनिने हालको ताक्लाकोटलाई पुराँस भन्थे । उनीहरू तालुमा नाम्लो लगाएर त्यो अप्ठ्यारो बाटोबाट नून र ऊन ल्याउँथे । हामी नै त्यो अन्तिम पुस्ता हो, जसको भान्सामा ताक्लाकोटबाट आउने स्वास्थ्यको लागि राम्रो मानिएको भोटे नून प्रयोग हुन्थ्यो । न्यानो ऊनको कपडाको लागि पनि त्यतैको भर पर्नु पथ्र्यो । अहिलेको पुस्तालाई त्यो सुनाउँदा विश्वास गर्दैन, सपना जस्तै भएको छ ।

परम्परागत तीर्थयात्राको लागि नाका प्रयोग

बझाङका मानिसहरूको जनजीवनसँग कैलाश र मानसरोवर तीर्थस्थलहरू अभिन्न रूपमा जोडिएका छन् । यसतर्फका धेरै मानिसहरू जीवनमा एकचोटी महत्त्वपूर्ण तीर्थस्थल अनिवार्य पुग्नैपर्ने मान्यता छ । मष्टो संस्कृति अन्तर्गतका मष्टा देवता र यहाँका अन्य देवी देवताहरूको आराधना गर्ने परिपाटीको दैवी परम्परा र संस्कृतिको लागि यो स्थल मेरुदण्ड नै मानिएको छ । ती देवताहरूको पूजा गर्दा वर्षको १ चोटी मानसरोवरको जल अनिवार्य रूपमा आवश्यक पर्र्छ । धेरैजसो देवी देवताहरूको धामीमा, देवता औतार भएपछि तिनीहरू मानसरोवरमा नुहाएर कैलाशको दर्शन गरेपछि मात्र असली र वास्तविक धामी हुन सक्छन् । यी देवताका चिह्नहरूलाई लगेर समय–समयमा मानसरोवरमा स्नान गराएर कैलाशको परिक्रमा गराउनुपर्छ ।

जल ल्याउने प्रक्रिया

यहाँ पूजा गरिने देवी देवतासँग सम्बन्धित मानिस धामी र पूजारीहरू त वर्षको १ चोटी स्वाभाविक रूपमा अनिवार्य पुग्नैपर्छ । उनीहरू असारमा त्यहाँबाट मानसरोवरको पवित्र जल साथ लिएर आउँछन् । जल ल्याउने काम तीर्थयात्रीले पैदलै सम्पन्न गर्नुपर्ने हुन्छ, देवताले तोकेको बाटो हिँड्ने र बास समेत तोकिएको ठाउँमा बस्नुपर्ने अनिवार्य गर्नुपर्छ । जलको शुद्धता कायम राख्न मानिसहरू सकभर छोइछाई नहोस् भनेर गाडी प्रयोग गर्न चाहँदैनन् । सवारीसाधनमा जल छोईछाई हुने भएकाले सबै प्रक्रिया पैदलै सम्पन्न गर्नुपर्ने हुन्छ ।

जल ल्याउनका लागि ताक्लाकोटबाट पैदलै गएर पहिले लाँगा देवता हिँडेको बाटो अनुशरण गरेर गौरीको ओढारमा अनिवार्य बास बस्नुपर्छ । स्नान गरी जल लिएपछि फर्केर आई गौरीको ओढारमा बास बसी पूजा गरेर फर्किनुपर्छ । कोही त्यहीँबाट फर्किन्छन् भने कुनै मानिसहरू त्यहाँबाट कैलाश जानका लागि मानसरोवरको जल या त गौरी खोलाको बगरमा गाडेर राख्ने वा साथमा लिएर कैलाश परिक्रमामा जाने वा जल लिएर फर्किने विकल्पहरू अपनाइन्छन् । यसका लागि देवी देवताहरूका लागि तोकिएको बाटो मात्रै हिँड्नुपर्छ । यसमा कुनै परिवर्तन गर्न पाइँदैन ।

तीर्थयात्रीहरू कैलाशबाट फर्किसकेपछि त्यो पवित्र जल, हिउँदमा यहाँका स्थानीय देवी देवताको माँडुहरूमा देवतालाई चढाएर पूजा गर्नुपर्छ । यस सम्बन्धमा थप अध्ययन र अनुसन्धान गर्न सकिन्छ ।यहाँका देवी देवताहरू समेत असारको महिना कैलाशतर्फ जाने विश्वास छ ।

साउनमा नयाँ मूल फुट्ने हुँदा सामान्यतया जल भरिँदैन । यो कार्य असार वा भदौमा गरिन्छ । केही देवताका धामी वा पूजारीको मृत्युपछि उनीहरूका अन्तिम चिह्न उनका सन्तान वा उत्तराधिकारीले मानसरोवरमा लगेर सेलाउँछन्, नत्र तिनीहरूले मोक्ष नपाउने विश्वास छ । खासगरी यतातर्फ देवताको लागि शिरको मानसरोवर र पितृको लागि तलको हरिद्वार भन्ने मान्यता छ ।

लाँगा देवताले खोलेको नयाँ बाटो

१ हजार वर्ष पहिलेसम्म बझाङबाट कैलाश जाने यो बाटो छोटो भए पनि अति विकट र चलनचल्तीको थिएन । राक्षस (सम्भवतः राक्षसी प्रवृत्तिका मानिसहरू) को नियन्त्रणमा रहेकाले यो क्षेत्रबाट हिँड्न चाहने यात्रीहरूको जीउ ज्यानमा क्षति हुन्थ्यो । कैलाश यात्रा गर्दा असुरक्षित तथा मानवीय क्षति हुने गरेको कुरा पश्चिमी देशका यात्रीले समेत आफ्नो अनुभव उल्लेख गरेका छन् । यहाँका मानिसहरू ज्यानको बाजी लगाएर भए पनि सांस्कृतिक सम्बद्र्धनका लागि स्नान गर्ने र जल ल्याउने प्रचलन जसरी तसरी कायम राखेका थिए ।

लाँगा देवता वास्तवमा बाँठपालाका साथ यो बाटो मानसरोवर स्नान गर्न आएका थिए । बाटोमा उनले राक्षसहरूसँग विभिन्न ठाउँमा अवरोधको सामना गर्नुपरेको थियो ।

लाँगा देवता को हुन् ?

लाँगा देवता यस क्षेत्रका धेरै मानिसहरूका कूल देवता र प्रायः सबैका पूज्य देवता मानिन्छन् । बझाङको अधिकांश भूभागमा यी देवताको पूजा हुन्छ । कैलाश क्षेत्रमै बस्ने विश्वास गरिने उनलाई लङ्गरसाई पनि भनिन्छ । लाँगा देवताको मुख्य स्थान बझाङको टाँडमा रहेको छ । उनी यो बाटोको रक्षकको रूपमा मानिन्छन् र तीर्थयात्रीको सुरक्षा गर्छन् । भोट क्षेत्रतर्फ मानिसहरू लाँगालाई ‘मिधुला’ भन्छन् । त्यहाँ पनि ४ गाउँका धेरैले उनलाई कूल देवता मान्छन्, ठाउँठाउँमा उनको पूजा गर्ने स्थलहरू छन् ।

लाँगा देवताको भनाई अनुसार यिनले तत्कालीन नेपालको सीमाना टार्चेन नजिक लामाबाँध्नासम्म आफ्नो प्रभाव क्षेत्र कायम गरेका थिए । उनीहरूले कैलाशको दर्शनपछि बझाङको टाँडमा आई आफ्नो प्रमुख थलो रोजे ।

जिदैकोटका शासकबीच सन्धि

कैलाश जाने क्रममा लाँगा देवता आफ्ना सहयोगी बाँठपाला देवताका साथमा सारी बम्म, कुन्जर्‍या बोहरालाई लिएर हालको तिब्बतको जिदैकोट पुगेका थिए । त्यहा जिदैकोटका सुनर्‍या बिष्ट, छे छे लामासँग विभिन्न धितधर्मसहित २ पक्षबीचमा सन्धि कायम भएको थियो । सन्धिपछि नेपाल र तिब्बतको व्यापारको खुलेको त्यो बाटो पश्चिम नेपालमा भारतलाई तिब्बतसँग जोड्ने प्रमुख व्यापारिक अन्तर्राष्ट्रिय राजमार्गको रूपमा विकसित भएको थियो ।

नेपाली भूभागको सीमाना कायम

सन्धिबाट नेपाली भूभागको सीमाना (हाल धेरै वर उराईलेक) तत्कालीन अवस्थाको साल्सु गंगा (तिब्बत कर्णाली) सम्म कायम भएको थियो । हालको सीमाना उरैलेकभन्दा उतातर्फका जिदैकोट र त्यस आसपासका लोकोट, माछागाड र तलीगुम्फा लगायतका ४ गाउँहरू नेपाल अन्तर्गत गाभिएका थिए ।

सन्धिका शर्तहरू

जिदैकोटमा दुई पक्ष बसेर तिनीहरू बीचमा छलफल भई निम्न अनुसारको सन्धि भएको थियो –

१. माथि उल्लेखित ४ गाउँका मानिसले सिर्तो (राज्यकर) का रूपमा प्रतिभेडा भेडाबाट एक फुरु (दुई माना) र एक प्रतिबल्ल (चौरी)बाट एक कट्टो (तीन माना) नेपाली पक्षलाई बुझाउने ।

२. नेपाल तर्फका तीर्थयात्रीहरूलाई कैलाश, मानसरोवर बेरोकटोक जान दिने ।

३.साईपाल नजिक रहेको चौराचौरमा रहेको टारेढुंगामा हातको बुढीऔंला अटाउने ओखल (खोपिल्टा) मा बुकीसुन भरेर नेपाली पक्षलाई बुझाउने ।

४. जिदैकोटको भन्सार प्रमुखले आधा क्विन्टल नून, ५ थान मसिना कम्बल–पाखी, ५ थान खस्रा राडी, लिँउ ( ऊनको ओछयाउने ठुलो), फेरे (ओछयाउने सानो), ५ थान चमर प्रतिवर्ष नेपाली पक्षलाई बुझाउने ।

५.भोटतिर नून, ऊन लिन जाने नेपालीहरूले प्रतिव्यक्ति एक मुठी चामल वा पिठो दोभासेलाई (बिष्ट)दिने ।

६. राजा अथवा उनका प्रतिनिधिहरू कैलाश, मानसरोवरसम्म जाँदा बाटामा पर्ने स्थानीय व्यक्तिहरूले अवारो (सबैबाट अलि अलि जम्मा गर्ने) उठाई खुवाउनुपर्ने, चढ्नलाई घोडा दिनुपर्ने ।

७. तिब्बततर्फका भेडा, झुमा, याक, घोडा, च्याङ्ग्रा आदि गाईवस्तुहरूलाई नेपालभित्र चरिचराउ गर्न दिने ।

८.साईपालको चौरमा मौसमी रूपमा बजार लगाउने अनुमति दिने ।

९. यसतर्फको व्यापारीका लागि ताक्लाकोट वा प्रचलित नाम ताक्लाखारमा बजार खोल्ने ।

सन्धि तत्कालीन अवस्थामा स्वर्णपत्रमा लेखिएको भनिएको छ । जिदैकोटका दरबारमा रहेको उक्त सन्धिपत्र त्यसतर्फ भएको सांस्कृतिक क्रान्ति ताका हरायो भनिन्छ ।

सन्धिका साक्षीहरू

लाँगा देवता र बाँठपाला देवताको उपस्थितिमा यो सन्धि नेपालका तर्फबाट सारी बम्म र भोटका तर्फबाट कठानका सुनर्‍या विष्टबीच भएको थियो । यस सन्धिका साक्षीहरूमा नेपालका तर्फबाट कुञ्जरे बोहरा र भोटका तर्फबाट छे छे लामा र र छेटेज्युला घर भएकी रूपा जड्यानीलाई राखिएको थियो ।

सन्धिको प्रभाव

करीब १ हजार वर्ष पछाडि, २०१८ साल वा नेपाल र चीनको नयाँ सन्धि हँुदासम्म पनि यस सन्धिका शर्तहरूको पालना भई रह्यो । त्यस क्षेत्रका मानिसहरू त्यो सन्धि पालना गर्न प्रतिबद्ध थिए । त्यसतर्फका मानिसले निहुँ खोजेमा देवताको कोप भाजनमा पर्नुपथ्र्यो । देवताको डरले पनि त्यस तर्फका मानिसहरू कुनै बाधा विरोध गर्दैनथे ।

अन्य शर्तहरू जे जस्तो भए पनि यस भेगका मानिसहरूले मानसरोवर स्नान गर्न, जल ल्याउन र कैलाश परिक्रमाको सुविधा विना रोकटोक उपभोग गर्न पाएका थिए । मानसरोवरको जल ल्याएर यहाँका माँडुहरूमा पूजा हुन्थ्यो । यसको लागि हाल पनि लाँगा देवताको जय जयकार गरिन्छ । उनी यस बाटोमा हिँड्ने तीर्थयात्रीहरूलाई कुनै प्राकृतिक वा दैवी विपत्ति आउन दिँदैनन् ।

तोकिएको ढुंगाको ओखलमा बुकीसूनको सिर्तो बुझाउने सम्बन्धमा सन्धि भएको धेरै वर्ष पछाडिसम्म पनि नेपाली पक्षले प्राप्त गथ्र्यो । केही सय वर्ष अगाडि लिने मानिसहरूले लालचमा परी बदमासी गरेर भर्ने ओखल खोपेर ठूलो बनाए । त्यो थाहा पाई उताबाट धीतधर्म तोडेको आरोपमा बुकीसुन बुझाउन बन्द भयो ।

पछिल्ला दिनहरूमा सिर्तोको सामान बझाङी राजाका प्रतिनिधि तलकोटीहरूले उठाउने गरेका थिए । नेपाल–चीन बीचको सन्धिपछि त्यताबाट सिर्तो आउन बन्द भयो । ब्रिटीश लेखक सिडनी विग्नालको पुस्तक ‘स्पाई अन द रुफ अफ द वर्ल्ड’ ९१९९६० मा बझाङी राजकुमार ओमजंगले सन्धि भएको वर्षको आसपास उक्त भूभाग आफ्नो रहेको भनी सुनाएको उल्लेख छ ।

लाँगा देवता समेतको सालिक थियो भनिन्छ

जिदैकोटमा लाँगा देवता लगायत साथ जाने व्यक्तिहरूका सालिक बनाइएका देख्नेहरू अहिले पनि जीवित छन् । सम्झौता हुँदा सुनको भँराडा (स्वर्णपत्र) मा लङ्गरीशाही, रुपाजडेनी, कुन्जर्‍या बोहरा, सारी बम्मको नाम उल्लेख थियो । पछि त्यहाँका मानिसहरूले लाँगो लगायत साथ जाने व्यक्तिहरूका सालिक (तस्वीर पनि भनिन्छ) राखेका थिए । सालिकमा लाँगोले हातमा त्रिशूल लिएका, दौराजस्तो परम्परागत झगुलो लगाएका र निधारमा त्रिशूल आकारको टीका लगाएको देखिन्थ्यो । सारीबम्मले कपडाको झगुलो लगाएर कम्मरमा पटुका बेरेका र टाउकोमा पगडी बाँधेका साथै कुन्जर्‍या बोहराले पोशाकहरू त्यस्तै भए पनि टाउकोमा गलबन्दीको फेटा बाँधेका थिए । रूपा जडेनीले कालो फर्कबादी (गुन्य कपडा) को गुन्यू र पटुकाका साथै कपडाको डिजाइनमा घण्टीहरू झुण्ड्याइएको देख्न सकिन्थ्यो ।

यतातर्फका मानिसहरू जिदैकोटको दरबार सांस्कृतिक क्रान्तिको समय ध्वस्त भएको र ती सालिक लगायतका कागजपत्रहरू या त अन्यत्र सारिएको अथवा नष्ट हुन गएको अनुमान गर्दछन् ।

नेपाल र चीनबीच ५ अक्टोबर १९६१ मा भएको सीमा सन्धि

माथि उल्लेखित सन्धिको पालना १९६१ मा नेपाल–चीन सन्धि नभएसम्म कायम रहेको थियो । ५ अक्टोबर १९६१ मा नेपाल र चीनबीच नयाँ सन्धि गरियो । सीमा सम्बन्धी सन्धिको दफा १ को १, २ र ३ ले २ देशको सीमारेखाका यस भेगका सीमा स्थानहरू तोकेको छ । साल्सुगंगा (तिब्बत कर्णाली) सम्मको नेपालको ठूलो जमिन तिब्बततर्फ पर्‍यो । नेपाल–चीन बीचको पहिले नेपालअन्तर्गत रहेका ४ गाउँका वासिन्दालाई कुन देशलाई रोज्ने भनेर मौका दिएको बुझिन्छ । नेपालको उक्त भूभागको सट्टापट्टामा मुगुको कुनै भाग दिइएको अनौपचारिक जानकारी छ ।

सन्धिले बेवास्ता गरेको परम्परा र सांस्कृतिक पक्षको उपेक्षा

भइसकेको सन्धि र त्यसका अन्य प्रावधानका सम्बन्धमा त यसतर्फका मानिसहरूको कुनै गुनासो हुने कुरा भएन । नेपाली पक्षले पर्याप्त अध्ययनका साथै तयारी नगर्दा त्यसअघि भएका सन्धि सम्झौताहरूका साथै स्थानीय परम्पराहरूको समेत अध्ययन गरिएन । सन्धि गर्ने बेलामा स्थानीय रूपमा चलेका परम्परा र भूगोल समेतलाई ध्यान दिनु पथ्र्यो । तत्कालीन अवस्थामा २ पक्ष बीचको सन्धि परम्परागत सम्झौतालाई ध्यान नदिएर बेवास्ता गरियो । यस सन्धिमा नेपाली भूभागमा रहेको देवी देवताको पूजामा पर्न सक्ने प्रत्यक्ष प्रभावको बारे कतैबाट सम्बोधन हुन सकेन ।

नेपाल र चीन बीचको सन्धि भएपछि पनि यसको निरन्तरता केही वर्षसम्म कायम थियो । त्यसपछि यो प्रक्रिया चीनको सीमानामा हुने गरेको कडाइका कारण कम हुँदै गयो । चिनियाँ पक्षको अवरोधले बिस्तारै मानिसहरूलाई आवतजावत गर्ने क्रम कम हुँदै गयो ।

पहिलेको निर्वाध रूपमा आवतजावत गर्ने सुविधा खोसिएकाले अघिल्लो पुस्ताले निर्वाह गर्दै आइरहेको जिम्मेवारीमा अवरोध आएको छ । देवतासँग सम्बन्धित व्यक्तिहरूको पछिल्लो पुस्ता मानसरोवरमा स्नान गरी जल ल्याउने सुविधा उपयोग गर्नबाट वञ्चित भएर निराशा पैदा भएर दुःखी छन् । सहज आवागमनको अभावमा हाल यस्ता धार्मिक प्रक्रियाहरू रोकिएका छन् । यसबाट यहाँका देवी देवताको पूजा समेत रोकिएको अवस्था छ । उनीहरूले देवताप्रतिको जिम्मेवारी पूरा गर्न नपाउँदा यसको प्रभाव यहाँको सांस्कृतिक प्रचलनमा पर्दै गएको छ । यस सन्धिका कारण देखापरेका अप्ठ्याराहरूले धार्मिक कार्यक्रमहरू हुन नसकेका कारण यस क्षेत्रका मानिसहरूको धार्मिक भावनामा चोट पुगेको छ ।

यसरी नियमित पूजा हुन नसकेको कारण नयाँ पुस्ताले यस सम्बन्धी प्रक्रिया नै बिर्सने खतरा बढ्दै गइरहेको छ । यसतर्फका विभिन्न माँडुहरूमा पूर्णरूपमा पूजाआजा हुन नसकी धार्मिक कार्यहरू अगाडि बढ्न सकेका छैनन् । यसबाट मौलिक प्रकारको यस परम्परामा सांस्कृतिक विचलन शुरू भएको छ ।

यसैको फाइदा उठाइ केही तत्वहरूले यहाँको संस्कृति अन्तर्गत पूजा गरिने देवी देवताको विरुद्धमा अनर्गल प्रचार गरेर स्थानीय मौलिक संस्कृतिका विरुद्धमा धावा बोलिरहेका छन् । यसका साथै आयातित संस्कृति भित्रिएर त्यसको प्रभाव समेत बढ्दै गएर, यसबाट पूर्वीय संस्कृतिलाई क्षति हुने सम्भावना बढ्दै गइरहेको छ ।

लुकिछिपी जाने प्रवृत्ति बढ्दो

यो काम नगरी नहुने भएकाले केही मानिसहरूले ज्यान जोखिममा पारेर तिब्बती क्षेत्रमा स्थानीय एजेन्टमार्फत सवारीसाधनमा चर्को मूल्य तिरेर चोर बाटोबाट लुकिछिपी मानसरोवर जाने दुस्प्रयास गरेको सुनिन्छ तर यो सधैं सफल हुँदैन । यसबाट एकातर्फ दुर्घटना भएका उदाहरणहरू छन् भने अर्कोतर्फ आर्थिक रूपमा लुटिएको गुनासो आउने गरेको छ । कति प्रवेश नपाएर फर्किरहेका वा फर्काइएका छन् ।

जल ल्याउन सफल भएमा समेत त्यो देवी देवताको लागि अशुद्ध मानिने भएकाले चढ्दैन । चढाएमा देवी देवता रिसाएर नकारात्मक अवस्था सिर्जना हुने डर रहन्छ ।

अस्थायी प्रवेश पासको प्रभावकारिता

केही वर्ष अगाडिसम्म सीमावर्ती गाउँका वासिन्दालाई जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रवेश पासमा ताक्लाकोटसम्म जान सक्ने सुविधा प्राप्त थियो । यो पास पनि सीमा नाकामा कहिले मान्य हुने र कहिले अमान्य भई फर्काइदिएको गुनासो पनि सुनिन्थ्यो । ताक्लाकोटभन्दा अगाडि त्यस पासको आधारमा जान पाइँदैनथ्यो । हालका दिनहरूमा त्यो प्रक्रिया पनि निष्क्रिय भएर आवतजावत रोकिएर ठप्प प्रायः छ । यस पासमा पनि समय–समयमा हुने परिवर्तनले प्रवेशमा समस्या उब्जिरहन्छ । फेरि त्यस पासले कैलाश मानसरोवर जान नदिई, ताक्लाकोटसम्म मात्र दिने गरेबाट उक्त परम्परागत समस्याको समाधान हुँदैन ।

ताक्लाकोटबाटै विस्थापित बझाङी

पहिलेको सन्धिअनुसार ताक्लाकोटको बजार पहिले बझाङी जनताको सुविधाको लागि स्थापित गरिएको भन्ने अघिल्लो पुस्ताको मानिसहरूबाट सुनिन्थ्यो । हाल बझाङका मानिसहरू त्यस बजारबाट विस्थापित भइसकेका र अन्यत्रका मानिसहरूले कब्जा गरी बसेको जानकारीमा आउँछ । शुरूमा तिब्बतसँग व्यापारको शुरूआत गर्ने यहाँका वासिन्दा हाल हरेक दृष्टिले उपेक्षित छन् ।

भिसा प्रक्रियाको झन्झट

त्यसतर्फ प्रवेशको भिसाको लागि चिनियाँ राजदूतावास काठमाण्डुमा रहेको र भिसा प्रक्रिया झन्झटिलो रहेकोले सबै मानिसको त्यसमा पहुँच हुँदैन । झन्झट गर्नुभन्दा जेसुकै होस् भनेर यहाँका सर्वसाधारण मानिसको मन मारेर पन्छिने प्रवृत्तिले पूर्ण रूपमा विधिपूर्वक देवी देवताको पूजा हुन पाएको छैन । भिसा लिनका लागि स्थानको दूरी, समय तथा आर्थिक कारणले जटिलता थपिएको छ । सीमाना जोडिएको र परम्परागत कारणले मानिसहरू सजिलै त्यसतर्फ जान चाहन्छन् । कतिलाई यो पनि जानकारीमा छैन कि भिसा लिएर मात्र तिब्बती क्षेत्रमा प्रवेश गर्न पाइन्छ ।

बझाङी जनताको चाहना

भौगोलिक वास्तविकता जेसुकै भए पनि यहाँको राजनीतिक गतिविधिसँग यहाँका मानिसको कुनै लिनुदिनु वा कुनै सरोकार छैन । यिनीहरूलाई द्विपक्षीय हितमा असर पर्ने खालको गतिविधि गर्नु पनि छैन । उनीहरूको मुख्य माग र चाहना धार्मिक प्रयोजनको लागि कैलाश, मानसरोवरसम्म निर्वाध आवागमन गर्न पाउनु हो । यसको लागि ती मानिसहरूले पटक–पटक विभिन्न तहमा आवाज उठाउँदै आए पनि यसको सुनुवाइ र समाधान भएको छैन ।

समझदारीको आवश्यकता

यसको समाधानका सम्बन्धमा नेपाल र चीन २ देशको बीचमा यस भेगका मानिसहरूलाई कैलाश, मानसरोवर जान पाउने परम्परागत सुविधाका सम्बन्धमा उच्चस्तरीय छलफल भएर कुनै समझदारी हुनु अतिआवश्यक छ । यसबाट एक समाधानको बाटो निस्किने अपेक्षा गरिएको र पूर्वीय संस्कृतिको अभिन्न अंग रहेको यस परम्परालाई जोगाउन मित्र राष्ट्र चीनको यो सद्भाव अतिमहत्त्वपूर्ण छ । कुनै नयाँ समझदारी भए यस भेगका मानिसको सामाजिक र सांस्कृतिक जीवनमा सकारात्मक प्रभाव ल्याउने आशा गरिएको छ ।

हरेक नेपालीसँग रहने नागरिकता वा पहिलेको प्रणाली जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने गरेको पासलाई आवश्यक शर्तहरू थप गरेर कैलाश मानसरोवरसम्म जाने सुविधा उपलब्ध गराउँदा पनि उपयुक्त हुन्छ । यसबाट यहाँको जनताको अनुहारमा खुशी फर्किने र एक सच्चा मित्र चीनको स्थानीयसँग यस जिल्लाका वासिन्दाको सम्बन्ध झन् प्रगाढ हुने विश्वास लिइएको छ ।

भारत र पाकिस्तान बीचको सिखहरूको तीर्थस्थल करतारपुर करिडोरलाई पनि उदाहरण वा मोडेलको रूपमा अनुशरण गर्न सकिन्छ । यसको इतिहास, विद्यमान अवस्था र वास्तविकताको सम्बन्धमा दुई देशका तर्फबाट यस सम्बन्धी विज्ञ वा समितिद्वारा अध्ययन र अनुसन्धान गराई थप निचोडमा पुग्न सकिन्छ ।

स्थानीय मानिसका अनुसार पहिले नेपाली भूभागतर्फ रहेको भन्सार कार्यालय पछि हटाइएको, स्वास्थ्य चौकी र सीमा प्रहरी चौकी हाल धुलीमा रहेका छन् । थप आवश्यक पूर्वाधार खडा गर्नेतर्फ नेपाली पक्षले आवश्यक कदम चाल्नुपर्ने हुन्छ ।

(लेखक नेपाल प्रहरीका पूर्व डिआईजी हुन् )