प्रधानमन्त्रीको चीन भ्रमणबारे चिनियां विदेशमन्त्रालयले दियो यस्तो प्रतिक्रिया

प्रधानमन्त्रीको चीन भ्रमणबारे चिनियां विदेशमन्त्रालयले दियो यस्तो प्रतिक्रिया


काठमाडौं–चीनले प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुने निश्चित भएको जनाएको छ । प्रधानमन्त्री ओलीको भ्रमणबारे परराष्ट्रमन्त्रालयले विज्ञप्ती जारी गरेकै दिन चिनिया विदेशमन्त्रालयका प्रवक्ताले त्यसको पुष्टी गरेका हुन् ।

चिनियां परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले बुधबार बेइजिङमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका क्रममा चिनियां राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्याङ्गसंग भेटवार्ता गर्ने तालिका निश्चित भएको बताएका छन् ।
प्रवक्ता कङ श्वाङकाअनुसार प्रधानमन्त्रीको पांच दिने भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्षस्थ चिनियां नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रवक्ता कङले चीनले प्रधानमन्त्री ओलीको भ्रमणले द्धिपक्षीय सम्बन्ध विकासको नयां उचाइ निर्माणमा उपयोगी हुने दाबी गरे । उनले भ्रमणको क्रममा बिआरआईको मार्गचित्र भित्र रहेर द्धिपक्षीय हितको विषयमा समझदारी हुने बताए ।
उनले नेपाल र चीनबीचको मित्रता पुस्तौंदेखीको भएको भन्दै प्रधानमन्त्री ओलीको भ्रमणले सम्बन्ध अझै उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

संक्रमणकालको अन्त्य भएपछि हुन लागेको प्रधानमन्त्रीको भ्रमणले चीन नेपालको सम्बन्ध विकासका लागी महत्वपूर्ण सावित हुने कङले बताए । प्रधानमन्त्री ओली चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी असार ५ गते चीनको औपचारिक भ्रमणमा जादैंछन् ।

परराष्ट्रमन्त्रालकाअनुसार भ्रमण दलमा प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य,गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनेछन् ।