काठमाडौं – चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको बताएका छन् । ‘समृद्धिको लक्ष्य हाँसिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ, त्यसमा पनि नजिकका छिमेकीबाट थप सहयोगको अपेक्षा गरेका छौं,’ प्रधानमन्त्री ओलीलाई उधृत गर्दै परराष्ट्र सल्लाहाकार डा. राजन भट्टराईले बताए ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौंदेखिको सम्बन्ध रहेको स्मरण गरे । ‘हामी एउटै हिमालको वारी पारी बसेका, एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं,’ प्रधानमन्त्रीले भने, ‘हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौं ।’
चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकत्तम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताए । गतवर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराए । मन्त्री सुगाङले नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाँ बढी आकर्षित भएको बताए ।
प्रतिक्रिया