भाइरसका कारण चीनको वुहान नगरमा सबै रेल र उडान बन्द

भाइरसका कारण चीनको वुहान नगरमा सबै रेल र उडान बन्द


वुहान – केही दिनयतादेखि फैलिएको कोरोना भाइरसको संक्रमणका कारण चीनको वुहान सहरबाट हुने र त्याहाँ आउने सबै उडान बन्द गरिएको छ ।

श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको संक्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको हुन् ।

कोरोनाभाइरसको संक्र्रमण चिनियाँ सहर वुहानबाट अन्यत्र अमेरिका लगायतका देशमा समेत फैलिसकेको छ । पाँच सयभन्दा बढी मानिसहरू प्रभावित भइसकेका छन् भने दर्जन भन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

कोरोनाभाइरसको पछिल्लो संक्रमण चीनको वुहान सहरको एक बजारमा जनावरबाट सुरु भएको अधिकारीहरुले बताएका छन् ।

अहिले चिनियाँ अधिकारीहरूले वुहान सहरका दशौँ लाख मानिसलाई जरुरी काम नभई शहर नछोड्न निर्देशन दिएका छन् ।

बिहीवार बिहानदेखि लागु भएको यो नयाँ नियम चिनियाँ नयाँ वर्षको बिदाको दिनदेखि कार्यान्वयनमा आउने बताइएको छ । नयाँ वर्षको अवसरमा दशौँ लाख चिनियाँहरू आफ्नो जन्मथलो फर्कने गर्छन् ।

कोरोनाभाइरसको संक्रमणका कारण अहिलेसम्म १७ जनाको मृत्यू भइसकेको छ । विश्व स्वास्थ्य संगठन डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हनोम गुब्रोहयसोसले चिनियाँ कदमको स्वागत गरेका छन् ।

उनले भने, ‘जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने निर्णयलाई म निकै गम्भीर मान्छु । सबै प्रमाणहरूबारे विचारविमर्श नगरी त्यसो गर्नु उचित हुँदैन ।’