फेरी मधेष झरिन् चिनियां राजदूत होङ

फेरी मधेष झरिन् चिनियां राजदूत होङ


काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत यु होङको सक्रियता बढेको छ । केही दिनअघि मध्य तराई पुगेर बाढिपिडीतलाई राहत वितरण गरेकी होङ फेरी शनिबार तराईका जिल्लाको भ्रमणमा निस्केकी छन् ।

उनी गत साउनको बाढीबाट धेरै क्षती भएको भोक्राहा नरसिंह–४ र कोशी गाउँपालिका –१ लौकहीको मुसहर बस्तीमा चिनियाँ सहयोगको अनुगमन गर्नका लागि तराई पुगेकी हुन् । बाढीपीडित घरपरिवारमा अझैँपनि लत्ताकपडा, खाद्यान्न र बसोबासको अभाव छ । त्यसमाथि बाढीपीडितको नाममा आएको राहत पहुँचवालाले मात्रै लिएको पनि गुनासो छ ।

बाढीपीडित सहयोग कार्यक्रम अन्तर्गत एक घर बराबर ऊनी पछ्यौरा २ थान, उनी कम्बल २ थान, बिर्को सहितको प्लाष्टिकको बाल्टी र मग एक एक थान, भाँडाकुडा अल्मुनियमका भाँडा ३ थान, खाना खाने प्लेट ३ थान, कप २ थान, डाडु र पन्यु एक एक थान, किटाणु प्रतिरोधि एवम् टिकाउ झुल २ थान, धुवाँरहित खाना पकाउने स्टोभ एक थान, फिल्टर एक थान, स्वच्छता सामग्री दुई महिनालाई पुग्ने समान वितरण गरिएको थियो ।

यसैको अनुगनमका लागि चिनियाँ राजदूत त्यहाँ पुगेकी हुन् । कोशी बाढीपीडित समस्या नेपाल र भारत सरकारबीच सन् १९५४ अर्थात् वि.सं. २०११ मा कोशी सम्झौताबाट सिर्जित समस्या हो ।

२०२२ सालमा आएको बाढी र त्यसपछि बेलामा कोशीको कटानले हजारौँ स्थानीयहरू पीडित छन् । बाढीपीडितसँगै यहाँ यसक्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या पनि छ । पछिल्लो समय संयुक्त राष्ट्रसंघसंग मिलेर चीनले तराईका विभिन्न जिल्लामा राहत वितरण कार्यक्रम अघि बढाइरहेको छ ।

चीन सरकारको निम्तोमा उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरमका एक दर्जन नेता यती बेला चीन भ्रमणमा समेत छन् ।