चीनको वृहत जलविद्युत् परियोजनाबाट नेपाललाई कुनै असर नगर्ने

चीनको वृहत जलविद्युत् परियोजनाबाट नेपाललाई कुनै असर नगर्ने

चिनियाँ बाँधबाट भारत र बंगलादेशका बाढी प्रभावित क्षेत्रहरूमा कमी आउने


काठमाण्डु-चीनले ब्रह्मपुत्र नदीमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको बाँध बनाउन स्वीकृती दिएपछि नेपालसहित भारत, बंगलादेश र तिब्बती समुदायमांझ चासो उत्पन्न भएको छ ।

नदीको तल्लो तटीय भेगमा अवस्थित देशहरूसँगै बाँधका कारण विस्थापित हुने मानिसहरूमा यो परियोजनाले चिन्ता उत्पन्न गराएको विश्लेषण भइरहँदा यसबाट त्रासको कुनै कारण नरहेको जलविद्यु्तको क्षेत्रमा काम गर्ने विज्ञहरूले स्पष्ट पारेका छन् । उनीहरूले चीनले बनाउने भनेको सबैभन्दा ठुलो परियोजनाबाट नेपाललाई पनि कुनै असर नगर्ने बताएका छन् ।

यस्तो छ चिनियाँ परियोजना

तिब्बतमा यार्लुङ साङ्गपो र भारतमा ब्रह्मपुत्र भनिने यो नदीमा बाँध बनाएर चीनले थ्री गोर्जेज बाँधभन्दा तीन गुणा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । थ्री गोर्जेज हाल विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले यो आयोजनालाई ‘पर्यावरण संरक्षणलाई प्राथमिकता दिएको एउटा सुरक्षित आयोजना’ भएको दावी गरेका छन् ।

सन् १९५० मा चीनले तिब्बती क्षेत्र आफ्नो नियन्त्रणमा ल्याएयता आफ्नो कडा नियन्त्रणमा राखेको यो क्षेत्रमा कैयौँ बाँधहरू बनाएको छ । ब्रह्मपुत्र नदीको माथिल्लो भाग अर्थात् यार्लुङ साङ्गपो नदीको अन्तिम भागतिर बन्ने बाँधले ठूलो पर्यावरणीय प्रभाव नपार्ने चिनियाँ अधिकारीहरूको दाबी छ । यद्यपि उनीहरूले यो परियोजनाका कारण कति मानिसहरू विस्थापित हुन्छन् भन्नेबारे खुलाएका छैनन् ।

यसअघि चीनले थ्री गोर्जेज जलविद्युत बनाउँदा १४ लाख मानिसहरूको बस्ती सार्नु परेको थियो । हाल सार्वजनिक भएका विवरण अनुसार तिब्बतको नाम्चा बर्वा पहाड मुनिबाट चारवटा २० किलोमिटर लामा सुरुङ खनेर तिब्बतको सबैभन्दा लामो यार्लुङ साङ्गपो नदीको पानी बाँधमा हालिनेछ ।

बाँधले विभिन्न देश हुँदै बग्ने नदीमा पानीको बहाव परिवर्तन र नियन्त्रण गर्ने सुविधा चीनलाई दिने अधिकारीहरूले बताएका छन् । चीनबाट बाहिरिएपछि ब्रह्मपुत्र भारतको अरुणाञ्चल, असम र बंगलादेश हुँदै समुद्रमा मिसिन्छ ।

चीनले नदीको शक्तिबाट नवीकरणीय ऊर्जाको फाइदा लिन विगत दशकहरूमा यार्लुङ साङ्गपोमा कैयौँ जलविद्युत् आयोजनाहरू निर्माण गरेको छ । पृथ्वीको सबैभन्दा गहिरो खोँचबाट बग्ने यो नदीको एउटा खण्ड ५० किलोमिटर भन्दा कम दूरीमा २००० मिटर तल झर्ने भएका कारण जलविद्युत उत्पादनको ठूलो सम्भावना छ ।

तर, नदीको भू–आकृतिका कारण यो भूभागमा जलविद्युत आयोजना बनाउन आफैँमा ठूलो इन्जिनिअरिङ चुनौती छ । यो बाँध आफैँमा चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो र महत्वाकांक्षी योजना हो ।

बाँध र जलविद्युत आयोजना बनाउने भनिएको क्षेत्र भूकम्पीय जोखिमको टेक्टोनिक प्लेटको सीमा क्षेत्रमा पर्छ । चिनियाँ अनुसन्धाताहरूले यसअघि भिरालो र साँघुरो खोँचमा हुने व्यापक उत्खनन र निर्माणले पहिरोको जोखिम पनि बढाउने भन्दै सचेत गराएको छ । यो परियोजनाको लागत एक खर्ब युआन अर्थात् १२७ अर्ब अमेरिकी डलर हुने चोङ्गी वाटर रिसोर्सेस ब्यूरोले आकलन गरेको छ ।

नेपालमा चिन्ता

चीनको यो महत्वाकांक्षी महापरियोजनाको असर नेपाललाई पनि चिन्ता प्रकट भइरहेको बेला यसबाट आत्तिनु नपर्ने विज्ञहरूले बताएका छन् । भारत–चीनबीचको परम्परागत प्रतिस्पर्धा र तनावमा ब्रह्मपुत्र नदीको जलविवादमा चीनको यो परियोजना थपिए पनि यसबाट नेपाललाई कुनै असर नगर्ने उनीहरूको धारणा छ ।

नेपालको कोशी, गण्डकी र कर्णालीसँगै ब्रह्मपुत्र नदी पनि यही हिमाली क्षेत्रबाट उन्पत्न हुन्छ । तर ब्रह्मपुत्र र नेपाल भएर बग्ने यी नदीहरूको वाटरशेड एउटै होइन ।

जलस्रोत विज्ञ दीपक ज्ञवालीका अनुसार चीनको वृहत् परियोजनाका कारण नेपाल मात्र होइन भारत पनि त्रासमा नरेहको बताउँछन् । ‘चिनियाँ बाँधको नेपालसँग कुनै साइनो छैन’, ज्ञवालीले भने, ‘ब्रह्मपुत्र नेपालबाट धेरै टाढा छ । यो नदी भारतको अरूणाचल प्रदेश भएर बंगालको खाडी पुग्छ । यो नदीको बेसिन फरक भएकाले यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्दैन ।

नेपालमा तिब्बत भएर आउने अरूण, तामाकोशी, सुनकोशी, त्रिशुली, भोटेकोशी, हुम्ला कर्णाली नदी पनि गंगा बेसिनमै भएकाले प्रत्यक्ष सम्बन्ध नरहेको विज्ञहरू बताउँछन् ।
यद्यपी जानकारहरूका अनुसार नेपाल र ब्रह्मपुत्र नदीको बेसिनबारे अध्ययन भने भएको छैन । विज्ञहरूले जलविद्युत परियोजनाबट नेपाललाई प्रत्यक्ष प्रभाव नपर्ने भएपनि सुक्ष्म जलवायु स्थितिमा प्रभाव पर्न सक्ने अनुमान गर्छन् । यद्यपी यसविषयमा अध्ययन गनुपर्ने उनीहरूको सुझाव छ ।

‘चीनले ठूलो बाँध बनाउँदा त्यस वरपर हरियाली बढ्ने अवस्था आए भने जलवायुमा आउने भिन्नताले हिमाली क्षेत्रमा केही असर भने पर्न सक्छन्,’ज्ञवालीले उल्लेख गरे ।

भारत र बंगलादेशमा कस्तो असर?

ब्रह्मपुत्र नदी तिब्बतको कैलाश पर्वत नजिकैको आङ्सी ग्लेशियरबाट निस्कन्छ र करिब तीन हजार किलोमिटरसम्म फैलिएको छ । यो भारतको असम हुँदै बंगलादेश पुग्छ र गंगा नदीमा मिल्छ ।

बंगलादेशको ९० प्रतिशतभन्दा बढी पानी सीमापारबाट आउँछ । सुख्खायाममा ब्रह्मपुत्र नदीले मात्रै ७० प्रतिशत पानी ल्याउँछ । यसबाट स्पष्ट हुन्छ कि ब्रह्मपुत्र बंगलादेशको जीवन रेखा हो ।

मिडिया रिपोर्टहरूका अनुसार यो विशाल परियोजनाले तिब्बतको सबैभन्दा लामो नदी यार्लुङ साङ्पोको प्रवाहलाई डाइभर्ट गर्दै नाम्चा बर्वा पर्वत वरिपरि कम्तीमा चार २० किलोमिटर लामो सुरुङ खन्नुपर्नेछ । त्यसैले यो बाँधलाई भारत र बंगलादेशले ठूलो चिन्ताको रूपमा हेरेका छन् ।

तर भारतीय विज्ञ डा. वाई नित्यानन्दमले यो परियोजनाबाट भारत खासै चिन्ता नथपिएको बताउँछन् । अहिलेसम्म भारत र बङगलादेशले आधिकारीक रुपमा भने चिनियाँ परियोजनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।

चीनका भू–वैज्ञानिकहरूले २०२३ मा गरेको एक अध्ययनमा यसपरियोजनाबाट भारत र बंगलादेशले प्रचुर लाभ लिन सक्ने जनाएका थिए । अध्ययनअनुसार चिनियाँ बाँधको उपयोगले भारत र बंगलादेशका बाढी प्रभावित क्षेत्रहरूमा क्रमशः ३२.६ र १४.८ प्रतिशतले कमी ल्याउन सकिन्छ ।