युक्रेन युद्ध अन्त्य र गाजामा युद्धविराम गर्न चिनियाँ राष्ट्रपति सीले गरे आह्वान

युक्रेन युद्ध अन्त्य र गाजामा युद्धविराम गर्न चिनियाँ राष्ट्रपति सीले गरे आह्वान


काठमाण्डु-चिनियाँ राष्ट्रपति सी जिनपिङले युक्रेन युद्ध अन्त्य गर्न अपील गरेका छन् । साथै उनले गाजामा युद्धविरामको पनि आह्वान गरेका छन् ।

ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनमा उनले शान्तिका लागि थप सहयोग र युक्रेन संकटको राजनीतिक समाधानका लागि मार्ग प्रशस्त गर्न चाहेको सीले बताएका हुन् ।

ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुला दा सिल्भाले पनि सीको अपील दोहोर्‍याउँदै युक्रेनमा युद्धको अन्त्य गर्न रोडम्यापमा जोड दिए । सिंगो विश्व सशस्त्र र राजनीतिक द्वन्द्वले जूझिरहेको बेला ब्राजिल र चीनले कूटनीति र संवादलाई पहिलो स्थानमा राखेको उनको भनाई छ ।

युक्रेनमा शान्तिका लागि चीन र ब्राजिलको साझा रोडम्यापलाई रुसले समर्थन गरे पनि युक्रेनले त्यसलाई अस्वीकार गर्दै आएको छ ।

यस बीच, संयुक्त राष्ट्र सुरक्षा परिषदले गाजामा स्थायी युद्धविरामको लागि प्रस्तावमा मतदान गर्दा इजरायललाई समर्थन गर्दै अमेरिकाले भिटो प्रयोग गरेको छ । राष्ट्रपति लुला दा सिल्भाले २०२३ को सुरुमा सत्तामा फर्किएपछि चीन र संयुक्त राज्य अमेरिकासँग सम्बन्ध सुधार्ने प्रयास गरेका छन् ।

जी–२० शिखर सम्मेलनलाई ग्रुप अफ २० पनि भनिन्छ । यसले अन्तर्राष्ट्रिय आर्थिक मुद्दाहरूमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै विश्वव्यापी आर्थिक स्थायित्व, व्यापार र अन्य चुनौतिहरूको समाधानमा राय निर्धारण गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ ।

जी–२० मा भारत, अमेरिका, चीन, रुस, ब्राजिल, क्यानडा, अर्जेन्टिना, अष्ट्रेलिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, दक्षिण कोरिया, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत र युरोपियन युनियनका सदस्य राष्ट्रहरू समावेश छन् ।