चितवनबाट गरियो चीन लैजाने गैंडा भद्र र रुपसीको विदाई

चितवनबाट गरियो चीन लैजाने गैंडा भद्र र रुपसीको विदाई


चितवन – नेपाल सरकारले चीनलाई उपहारस्वरुप दिन लागिएको एकसिंगे गैंडाको जोडिलाई मंगलबार काठमाडौं पठाइएको छ ।काठको विशेष खोरमा राखिएका गैंडाका बच्चाहरुलाई ट्रकमार्फत काठमाडौं लगिएको हो ।

ती गैंडालाई काठमाडौं लगेर सदर चिडियाखाना जाउलाखेलमा राखिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदबहादुर ढकालले जानकारी दिए । गैंडाको विदाईका लागि सौराहामा एक कार्यक्रमको आयोजना गरिएको छ ।

गैंडा राखिएको ती खोरहरु असार २८ गते बिहीबार विशेष कार्गो विमानमा राखेर चीन लैजाने निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए ।यात्रा गराउँदा गैंडाको बच्चाहरुलाई बेहोस बनाइने छैन । दाना र फलफूल खुवाउँदै चीन लगिने छ । यी दुई गैंडालाई चीन गोन्जाओको चेमोलोङ पार्कमा राखिने ढकालले बताए ।

गैंडासँगै नेपालबाट दुईजना पशु चिकित्सक र रेखदेख गर्न अरु तीनजनाको टोली पनि जाँदै छ ।एकै बर्षमा एक जोडीमात्रै पठाउन मिल्ने कानुनी व्यवस्था रहेकोले अर्को एक जोडी गैडालाई अर्को बर्षमात्रै पठाइने छ ।

चीन पठाउने थप दुई गैंडालाई पनि बुमामा राखिएको छ । उनीहरुलाई चीनको चिमेलाङ पार्क र सांघाई वाइल्ड एनिमल पार्कमा राखिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट अहिलेसम्म २६ गैंडा उपहारस्वरुप पठाइएको छ ।