प्रचण्ड धेरै बाठो हुँदा ३ बल्ड्याङ खाए : चित्रबहादुर केसी

प्रचण्ड धेरै बाठो हुँदा ३ बल्ड्याङ खाए : चित्रबहादुर केसी


काठमाण्डु – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले बालकोट र कहिले बूढानिलकण्ठ धाएर धेरै बाठो हुँदा ३ बल्ड्याङ खाएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै केसीले प्रधानमन्त्री प्रचण्डले खेल नबुझेकाले अब केही गर्न नसक्ने बताए ।

उनले भने, ‘ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन नलिएको भन्ने कुरा म राजनीति नजान्नेले पनि बुझेको थिएँ । बूढानिलकण्ठमा भएको विवादलाई आधार बनाएर बालकोट पुग्नुभयो, त्यसको परिणाम प्रधानमन्त्रीले भोग्नुभएको छ । अब २ वटा ठूला पार्टी मिसिएपछि हुनेवाला केही छैन । मुखको तीतो पोख्ने मात्र हो ।’

उनले २ वटा ठूला पार्टी मिले पनि मुलुकमा केही उपलब्धि हुन नसक्ने बताए । पछिल्लो समय संसद् भित्रको दोस्रो पार्टीले प्रधानमन्त्रीलाई पाँचै वर्ष सत्तामा राख्न नदिएको भन्दै केसीले प्रधानमन्त्रीले बल्ल खेल बुझेको बताए ।

‘वर्तमान प्रधानमन्त्रीले बुझ्नुभएन खेल । पुस १० गते तपाईं जहाँ पुग्नुभयो, त्यही दिनदेखि दसा सुरु भएको थियो । यसो भन्दा नराम्रो लाग्ला । तपाईं कतिपटक बालकोट जानुभयो, कतिपटक बूढानिलकण्ठ पुग्नुभयो, यसरी राजनीति चल्छ ? पछिल्लोपटक तपाईंलाई पाँचै वर्ष सत्तामा राख्न संसद् भित्रको दोस्रो पार्टी मिसिएको थिएन । अहिले बल्ल भोग्नुभयो,’ उनले भने ।