चितवन मालपोतका लेखा अधिकृत एक करोड ७१ लाखसहित फरार

चितवन मालपोतका लेखा अधिकृत एक करोड ७१ लाखसहित फरार


चितवन – जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन्। कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन्। आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको उनले बताए।

गत आर्थिक वर्षको लेखा परीक्षण गर्दा उनको नाममा एक करोड ७१ लाख बेरुजु देखिएको थियो। दर्जीले जग्गा रजिष्ट्रेशनको रकम बैंकमा दाखिला नगरी आफैँले प्रयोग गरेका थिए। पौडेलका अनुसार दैनिक बैंकमा रकम जम्मा गर्नुपर्नेमा सोही रकम दर्जीले हिनामिना गरेको लेखा परीक्षण प्रतिवेदनले देखाएको छ।

मङ्सिर ६ गते आलेपले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न पत्र काटेको थियो। पाँच पटकसम्म पत्र काटे पनि दर्जीले अटेर गरेका थिए।

मङ्सिर २० गते आन्तरिक लेखा परीक्षकले २४ घण्टाभित्र नै रकम दाखिला गर्न पत्र दिएको तर, दर्जीले कार्यालयमा आएर सबै पैसा आफैँले खर्च गरेको र तिर्न नसकेको खण्डमा कानूनअनुसार जस्तोसुकै कारबाही भोग्न पनि तयार छु भनेर सनाखत गरेर गएको कार्यालय प्रमुख पौडेलले बताए।

सोही दिनबाट दर्जी फरार छन्। पौडेलका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आवश्यक सम्पूर्ण कागजात झिकाएर अनुसन्धान गरिरहेको छ। दर्जीका सबैै बैंक खाता रोक्का गर्न लगाइएको छ। भरतपुर महानगरपालिका–१० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा दर्जीको पनि साझेदारी रहेको खुलेपछि सोको कारोबार रोक्का गरिएको पौडेलले बताए।