चितवन राष्ट्रिय निकुञ्जबाट २६ गैंडा उपहार

चितवन राष्ट्रिय निकुञ्जबाट २६ गैंडा उपहार


चितवन – चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैंडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ ।

निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैंडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैंडा पठाइएको थियो । बाह्र वर्षपछि पुनः अहिले दुई जोडी गैंडा चीन पठाउन लागिएको हो । यससंगै निकुञ्जबाट पठाइएका गैंडा ३० पुग्नेछन् ।

यसअघि गैंडा पठाएर भारत, म्यान्मा र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैंडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिए ।

विभिन्न देशमा सम्बन्ध सुमधुर बनाउनका लागि उपहारस्वरुप जनावर दिइएको उनले बताए । यसबाट वंश विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
निकुञ्जबाटै विभिन्न देशलाई घडियाल र मगर गोही पनि उपहारस्वरुप दिइएको छ । चीनलाई गैंडा उपहार दिंदै गर्दा चीनबाट जेन्ट पाण्डा ल्याउन सकेमा ठूलो उपलब्धि हुने उनले बताए ।