काठमाडौं- नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भुसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेका छन् ।
नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेका चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भुसाललाई स्वागत गरे ।
भुसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति भएका थिए । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित थिए ।
भुसाल चितवन माडी क्षेत्रका लोकप्रिय नेता हुन, जुन क्षेत्रबाट अहिले अध्यक्ष दाहाल सांसद छन्। अघिल्लो वर्ष भएको निर्वाचनमा कांग्रेसले यस क्षेत्रमा राप्रपाका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेलाई समर्थन गरेको थियो, जो दाहालबाट पराजित भएका थिए।
अध्यक्ष दाहालले पार्टीसँगै यो निर्वाचन क्षेत्रमा आफ्नो वर्चश्व बलियो बनाउन भुसाललाई नेकपामा प्रवेश गराउने माहोल बनाएको बताइन्छ।
नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए । उनले भने, ‘नेपाली काँग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ ।’ उनले काँग्रेस कार्यकर्तालाई पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेकपाको छातामुनि गोलबन्द हुन आग्रह गरे ।
प्रतिक्रिया