सुख्खा बन्दरगाह निर्माणको विरोधमा चोभारमा स्थानीयबासी र प्रहरीबीच झडप

सुख्खा बन्दरगाह निर्माणको विरोधमा चोभारमा स्थानीयबासी र प्रहरीबीच झडप


काठमाडौं – स्थानीयको अवरोधका कारण लामो समयदेखि अन्योलमा परेको काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह शिलान्यासका क्रममा बिहीबार स्थानीबासी र प्रहरीबीच झडप भएको छ।

चोभार संरक्षण समितिको अगुवाइमा भएको विरोधका क्रममा प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इन्द्र महर्जन, ज्ञानेन्द्र महर्जन, अमकण कर्माचार्य, दीपक महर्जन, मिलन थापालगायत रहेका छन् ।

शिलान्यासका लागि प्रधानमन्त्री केपी शर्मा ओली चोभार पुगिसकेका छन्। प्रधानमन्त्री ओली कार्यक्रमस्थल पुग्नुअघि केहीसमय स्थानीयहरुले आफ्ना माग पूरा नभएको भन्दै शिलान्यास अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले बिहानैदेखि पक्राउ गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्थानीयवासीले उठाएका मागलाई अध्ययन गरी पूरा गर्ने प्रतिवद्धता जनाएकाले विरोध गर्न आवश्यक नरहेको जनाएको छ। मन्त्रालयका सहसचिव रविशंकर सैंजुले स्थानीयवासीका माग पूरा गर्ने गरी सुख्खा बन्दरगाहको निर्माण कार्य अगाडि बढाउन लागिएको बताएका छन्।