चूडामणि शर्माविरुद्ध विशेष अदालतमा अकुत सम्पत्ति मुद्दा

चूडामणि शर्माविरुद्ध विशेष अदालतमा अकुत सम्पत्ति मुद्दा


काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

 

 

शर्माले सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् २०७३ मंसिर मसान्तसम्म ४ करोड २९ लाख अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको हो।

 

शर्मालाई ४ करोड २८ लाख रुपैयाँको विगो तथा हदैसम्मको कैद सजाय माग गरिएको छ।

 

शर्माकी श्रीमती र छोराछोरीको नाममा पनि विभिन्न बैंकमा रकम तथा शेयर रहेको, परिवारले महँगा घर तथा गाडीको प्रयोग गरेको देखिए पनि बैध आयको स्रोत नदेखिएको अख्तियारको दावी छ।

 

शर्माविरुद्ध अख्तियारको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । कर फर्छ्यौट आयोगमा रहँदा अस्वभाविक रुपमा १० अर्व रुपैयाँ कर छुट दिएको भन्दै चुडामणि शर्मालाई अख्तियारले यसअघि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

उक्त मुद्दामा शर्मासहित कर फछ्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ मागदाबी गरिएको छ  साे मुद्दामा अनुसन्धानका लागि अख्तियारद्वारा पक्राउ परेका शर्मा सर्वोच्च अदालतको आदेशमा यसअघि नै रिहा भइसकेका छन् ।