सोलार जडान गर्दा ५ लाख घुस लिएको आरोपमा गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोलार जडान गर्दा ५ लाख घुस लिएको आरोपमा गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले आज मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगले उमेश प्रसाद यादव, टेक नारायण यादव र विरेन्द्र कुमार यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसूरमा ५ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ को देहाय घ बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवाना सजाय समेत दाबी गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

गाउँपालिका अध्यक्षसहित अपेटर विरेन्द्र कुमार यादव लगायतले सोलार बत्ती जडान गर्दा गाउँपालिकाबाट रकम भुक्तानी गरेबापत सेवाग्राहीसँग ५ लाख (२ लाख नगद र ३ लाख चेक) रुपैयाँ घुस लिएको अख्तियारले दाबी गरेको छ ।

अध्यक्ष उमेश, लेखापाल टेक नारायण यादव र एमआईएस अपरेटर विरेन्द्रलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा साउन ३१ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।