अमिनले ४ हजार घुस लिएको आरोपमा अख्तियारले गर्‍यो भ्रष्टाचार मुद्दा दायर

अमिनले ४ हजार घुस लिएको आरोपमा अख्तियारले गर्‍यो भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालले ४ हजार घुस लिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको जनाएका छन् ।

जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएको आरोप अमिन ढकालमाथि छ ।

अख्तियारको विज्ञप्तिमा भनिएको छ, ‘नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकालले जग्गा नापजाँच गरी लालपूर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले निज अमिन गोविन्द ढकाललाई सेवाग्राहीबाट रु.४,०००।– (चार हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।०९।११ गते नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपूर्जा दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवतबापत रु.४,०००।–(चार हजार रुपैयाँ) माग गरी लिएको पुष्टि भएकाले निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ अन्तर्गतको कसूर गरेको हुँदा निज गोविन्द ढकाललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु.४,०००।– (चार हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय समेत हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ ।’