काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा १ जना शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरी घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै कास्कीको पोखरा महानगरपालिका–८ स्थित श्रीराम प्राथमिक विद्यालयको स्थायी शिक्षक विन्दु गौतम शर्माविरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरी जागिर खाएको आरोपमा आज विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरेको जनाएका छन् ।
शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली भएको र छानबिनको माग गर्दै शिक्षक शर्माविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
उजुरीका आधारमा अनुसन्धान हुँदा शिक्षक शर्माले माध्यमिक शैक्षिक परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कूल एण्ड इण्टरमिडियट एजुकेसन, यूपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धांक पत्रहरू पेश गरी प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।
शिक्षक शर्माले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिमको कसूर गरेको हुँदा उनीमाथि भ्रष्टाचार निवारण ऐनको दफा १६ (१) बमोजिम सजाय र मागदाबी गर्दै अख्तियारले आरोपपत्र दायर गरेको छ ।
प्रतिक्रिया