नापीका सर्वेक्षक र मालपोतका नासुसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापीका सर्वेक्षक र मालपोतका नासुसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामविर यादव र मालपोत कार्यालय ललितपुरका नायब सुब्बा प्रदीप पौडेलसहित ५ जनाविरुद्ध घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आरोपपत्र दायर गरिएको जनाएका छन् ।

अख्तियारको विज्ञप्तिमा भनिएको छ, ‘नापी कार्यालय ललितपुरका नापी सर्भेक्षक रामविर यादव समेतले जग्गा कित्ताकाँट गरी जग्गाधनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले निज सर्भेक्षक रामविर यादव, लेखापढी काम गर्ने दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट रु. २,५०,०००।– (दुई लाख पचास हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।१०।०९ गते नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको सिलसिलामा नापी कार्यालय ललितपुरका सर्वेक्षक रामविर यादवले सेवाग्राहीसँग जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाई दिएबापत घुस/रिसवत २ लाख ५० हजार रुपैयाँ माग गरेकोमा उक्त घुस रकममध्ये जग्गा कित्ताकाट गर्ने गराउने प्रयोजनको लागि रु. १ लाख ५० हजार रुपैयाँ रकम विचौलिया विनोद अधिकारीलाई लिन लगाई लिएको र भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरबाट जग्गाधनी पूर्जा बनाउन लगाए/बनाई दिएबापत मालपोत कार्यालय ललितपुरका नायब सुब्बा प्रदीप पौडेललाई दिने प्रयोजनका लागि प्रदीप पौडेलले माग गरेको रकम रु. १ लाख रुपैयाँ लेखापढी व्यवसायी आशिषराज बस्नेतले लेखापढीको काम गर्ने दिनेश बन्जारालाई लिन लगाई लिएको हुँदा निजहरू रामविर यादव, विनोद अधिकारी, प्रदीप पौडेल, आशिषराज बस्नेत र दिनेश बन्जारा समेतको आपसी मिलोमतोमा जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पूर्जा बनाउन/बनाई दिएबापत घुस/रिसवत लिए लिन लगाएको पुष्टि भएकोले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामविर यादवलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो रु.२ लाख ५० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना हुन मागदाबी लिइएको छ ।’

अख्तियारले बिचौलियालाई मतियार सरहको कसूरमा सजाय गर्न मागदाबी लिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘बिचौलिया विनोद अधिकारीले जग्गा कित्ताकाट गरी गराई दिने प्रयोजनको लागि माग गरेको रु.१ लाख ५० हजार रुपैयाँ रामविर यादवसँग मिलेमतो गरी लिएको हुँदा निज विनोद अधिकारीलाई मुख्य कसूरदार रामविर यादवले गरेको भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) बमोजिमको कसूरको मतियार भई भ्रष्टारचार निवारण ऐनको दफा २२ बमोजिमको कसूर गरेको हुँदा निज बिनोद अधिकारीलाई, मुख्य कसुरदार रामविर यादवलाई बिगो रु. १ लाख ५० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम हुने सजायलाई आधार मानी, सोही ऐनको दफा २२ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।’

मालपोत कार्यालय ललितपुरका प्रदीप पौडेललाई भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा बिगो १ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदाबी लिइएको अख्तियारले जनाएको छ ।

लेखापढी व्यवसायी आशिषराज बस्नेत र लेखापढी काम गर्ने दिनेश बन्जाराले जग्गाधनी प्रमाण पूर्जा बनाई दिए/बनाउन लगाएबापत माग गरेको घुस/रिसवत प्रदीप पौडेलसँग मिलेमतो गरी लिएको हुँदा मुख्य कसूरदार प्रदीप पौडेलले गरेको भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) बमोजिमको कसूरको मतियार भई भ्रष्ट्राचार निवारण ऐनको दफा २२ बमोजिमको कसूर गरेको हुँदा आशिषराज बस्नेत र दिनेश बन्जारालाई, मुख्य कसुरदार प्रदीप पौडेललाई बिगो १ लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम हुने सजायलाई आधार मानी, सोही ऐनको दफा २२ बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाण्डुमा आरोपपत्र दायर गरिएको छ ।