करारका शाखा अधिकृतले करोडौं कमाएपछि भ्रष्टाचार मुद्दा दायर

करारका शाखा अधिकृतले करोडौं कमाएपछि भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डु उपत्यका विकास प्राधिकरणमा कार्यरत करार सेवाका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

करार सेवामा कार्यरत अधिकृत कार्कीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै आयोगले ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँ बिगो र जरिवानासहित आज बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका कार्कीको २०७९ चैत ३० गतेसम्मको पारिश्रमिक आय, जग्गा बिक्री, घर तथा जग्गा बहाल आय, बैंकबाट लिएको ऋण गरी वैध आय ३ करोड ७७ लाख १३ हजार ६४६ रुपैयाँ रहेको देखिएको छ तर उनको विभिन्न ठाउँमा भएको लगानी, सम्पत्ति र बचत हेर्दा ६ करोड ९८ लाख ४६ हजार ६०३ रुपैयाँ देखिएको अख्तियारको ठहर छ ।

कूल आयबाट वैध आय घटाउँदा बाँकी रहेको ३ करोड २१ लाख ३२ हजार ९५६ रुपैयाँको स्रोत नखुलेकाले शाखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।