गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाण्डु – सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्व मोहनप्रसाद यादवसहित १४ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नवराजपुर–२ मझौरामा प्रदेश सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालय मझौरामा अधुरो कार्य पूरा गर्नका लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी सम्पूर्ण रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

आरोपीहरूले १४ लाख ५१ हजार ५५१ रुपैयाँ हिनामिना गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आरोप पत्रमा यादवसहित गाउँपालिका उपाध्यक्ष शोभाकुमारी यादव भन्ने शोभा कुमारी, प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोम प्रसाद आचार्य, इन्जिनीयर कृष्णा साह र सबइन्जिनीयर सन्तोषकुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र तत्कालीन जिन्सी प्रमुख संजयप्रसाद यादवलाई प्रतिवादी बनाइएको छ ।

उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनी देवी मण्डल र सचिव रामभरोस मुखिया मलाह, वडा नम्बर ४ का वडाध्यक्ष मदन यादव, वडा नम्बर ५ का तत्कालीन वडाध्यक्ष मनोजकुमार यादव र वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष खुशिलाल साहलाई पनि प्रतिवादी बनाइएको छ ।