अख्तियारका पदाधिकारीले ७ दिनको पारिश्रमिक प्रकोप उद्धार कोषलाई दिने

अख्तियारका पदाधिकारीले ७ दिनको पारिश्रमिक प्रकोप उद्धार कोषलाई दिने


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीले ७ दिनको पारिश्रमिक प्रधानमन्त्री प्रकोप उद्धार कोषलाई दिने भएका छन् ।

बाढी तथा पहिरो पीडितका लागि आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्त किशारकुमार सिलवाल, जयबहादुर चन्द, हरिप्रसाद पौडेल र सुमित्रा श्रेष्ठले ७ दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

आयोगका कर्मचारीले भने पदअनुसार फरक–फरक हिसाबले सहयोग गर्ने भएका छन् । आयोगका सचिव घनश्याम उपाध्यायले ५ दिन, आयोग तथा अन्तर्गतका निकायमा कार्यरत सहसचिव र उपसचिवस्तरका कर्मचारीको ३ दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीको २ दिन र अन्य कर्मचारीको १ दिनको तलब बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नरहरी घिमिरेले बताए ।

आयोगले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुवानमा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जलि तथा शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।