अख्तियारमाथि आशंका : ३०० मा पाइने रजिष्टर १७ हजारमा खरिद गरेको मुद्दा मुलतवीमा

अख्तियारमाथि आशंका : ३०० मा पाइने रजिष्टर १७ हजारमा खरिद गरेको मुद्दा मुलतवीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा – विस्तृत अनुसन्धान सकिएर भ्रष्टाचार भएको राय ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीले मुख्य कार्यालय टंगालमा पठाएको एउटा मुद्दा अचानक मुलतवीमा पठाइएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा सर्लाहीको बलरा नगरपालिकाले सहकारीको रेकर्ड राख्ने १५ थान रजिष्टर खरिद गरेको थियो । बजारमा ३०० मा पाइने रजिष्टर प्रतिगोटा १७ हजार रुपैयाँमा खरिद भएको र भुक्तानी दिइएको उजुरी परेपछि अख्तियार बर्दिवास कार्यालयले अनुसन्धान गरेको हो ।

३०० पर्ने रजिष्टर १७ हजार रुपैयाँका दरले खरिद भएको देखिएपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश महतोमाथि भ्रष्टाचार गरेको अभियोजन पत्र विशेष अदालत काठमाण्डुमा दर्ता हुने राय ठहरसहित बर्दिवास कार्यालयले टंगाल पठाएको थियो ।

तर बैशाखको पहिलो हप्तामा आरोपित प्रमुख प्रशासकीय अधिकृत (हाल सहिदनगर नगरपालिका धनुषामा कार्यरत) उमेश महतोले बलरा नगरपालिकाको राजस्व शाखामा रजिष्टर खरिदको सावाँ र व्याज समेत ३ लाख १० हजार रकम बुझाएका छन् । रकम बुझाएपछि यादवमाथि दायर गर्न ठीक्क पारिएको मुद्दा मुलतवीमा गएको छ ।

मुद्दा मुलतवीमा पार्न ठूलो रकमको लेनदेन भएको स्रोतहरूले दाबी गरेका छन् । अख्तियार कार्यालय बर्दिवासबाटै प्रमुख प्रशासकीय अधिकृत महतोलाई बोलाएर रजिष्टर खरिद गर्दा भएको भुक्तानीको साँवा र व्याज रकम सरकारलाई फिर्ता गरेर भौचर बुझाउन भनियो । त्यसपछि महतोले अह्राइए बमोजिम रकम जम्मा गरेर भौचर बुझाए । बर्दिवासले मुद्दा मुलतवीमा जाने सिफारिससहित मिसिल टंगाल पठाइदिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका सूचना अधिकारी तुलसीराम पौडेलले भने, ‘अख्तियारको सबै निर्णय केन्द्रबाटै हुन्छ । हामीले राय सुझावसहित मिसिल टंगालमा पठाउने हो । उतैबाट बुझ्नुस् । हामीलाई थाहा भएन ।’ उनले राजिष्टर खरिदमा अनुसन्धान भएको भने स्वीकार गरे ।

अख्तियार बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुमवाङ्गसँग यसबारे प्रतिक्रिया माग्दा रजिष्टर खरिदमा अनुसन्धान भएको तर निर्णय टंगालबाटै हुने बताएर उनी पन्छिए ।

प्रमुख प्रशासकीय अधिकृत महतोलाई ‘के तपाईंले रजिष्टर खरिद बापतको रकम नेपाल सरकारलाई फिर्ता गर्नुभएको हो ?’ भनेर प्रश्न गर्दा जवाफमा उनले भने, ‘यस विषयमा मलाई थाहा छैन ।’ तर एकैछिन पछि फोन गरेर उनले भने, ‘यस विषयमा भेटेरै कुरा गर्न मिल्दैन ? भेटेरै कुरा गरौं ।’

यता बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साहलाई रजिष्टर खरिद बापतको रकम राजस्व खातामा जम्मा भए/नभएकोबारे सोध्दा उनले भने, ‘म राजस्व शाखामा कार्यरत कर्मचारीसँग सोधेर फोन गरेर जानकारी गराउँछु ।’ तर त्यसपछि उनको फोन लागेन ।

सिरहाका वयोवृद्ध वामपन्थी नेता रामजी यादव भन्छन्, ‘अख्तियारले जीत हुनेमा शंका भएका मुद्दाहरू पैसा तिराएर मुलतवीमा पठाउने निर्णय गर्दा भ्रष्टाचारले झन् प्रश्रय पाएको छ । अख्तियारले समाइहाले नगद फिर्ता गरिदिने, नत्र पचाउने भन्दै धक फुकाएर भ्रष्टाचार गर्न थालेका छन् । स्थानीय तहमा बेथितिले सीमा पार गरेको छ । अख्तियारमा पनि बेथिति देखियो । यो मुद्दा सेटिङमै मुलतवी पारिएको हुनुपर्छ ।’