स्वतन्त्र मधेस गठबन्धन अन्त्यको घोषणा गर्दै सिके राउतले भने :हामी बुद्धका सन्तान, अहिंसा हाम्रो रगरगमा

स्वतन्त्र मधेस गठबन्धन अन्त्यको घोषणा गर्दै सिके राउतले भने :हामी बुद्धका सन्तान, अहिंसा हाम्रो रगरगमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउतले नेपाललाई स्थिरतामा लैजान मुलधारको राजनीतिमा प्रवेश गरेको बताएका छन् । राष्ट्रिय सभागृहमा सरकारसँग भएको ११ बुँदे सहमतिपछि  डा.राउतले लामो संघर्षलाई आफूहरुले सुरक्षित रुपमा अवतरण गरेको बताए ।

‘नेपालमा विगतमा रहेका जटिल समस्या थिए, नेपाललाई स्थिरतामा लैजानका लागि हामीले यो कदम चालेका छौँ’, उनले भने, ‘आन्दोलन विस्फोट हुने डर थियो तर प्रधानमन्त्रीले गर्नुभएको पहलले हामी यो अवस्थामा आइपुगेका छौँ ।’ नेता राउतले आफूहरु बुद्धका सन्तान भएको समेत बताए। ‘हामी बुद्धका सन्तान, अहिंसा हाम्रो रग रगमा बसेको छ । अहिंसा हाम्रो शरीर भित्र नै अन्तरनिहीत भएर बसेको छ’, उनले भने, ‘हामीले यो आन्दोनका क्रममा पनि बुद्ध र गान्धीका आवाजलाई मानेका छौँ ।’

राउतले आन्दोलनका क्रममा आफ्ना सयाै‌ कार्यकर्ताहरु जेलमा रहेका स्मरण गराए । ‘हाम्रा जिल्ला संयोजकको जेलमै ज्यान गयो । म आफैँ पनि महिनौँ जेलमा पनि बसेको छु, । मोरङमा प्रहरी दमनमा परेर खुट्टा पनि भाँचियो’, उनले भने, ‘अधिकार सबै जनतालाई चाहिन्छ, त्यसका लागि हामी अब राजनीतिक मोर्चाबाट अघि बढ्छौँ ।

आफूहरुको आन्दोलनका क्रममा समुदाय–समुदायलाई लडाउने खेल भएको पनि उनले खुलाए । ‘अरुलाई कुट्न सजिलो छ ढुंगा फाल्न सजिलो छ तर आफैँले कुटाई खाएर बस्न चाहिँ गाह्रो छ’, उनले भने, ‘हाम्रो आन्दोलनका क्रममा समुदायलाई लडाएर फाइदा लिन पनि खोजियो । हामीमाथि दमन हुँदा पनि हामीले हातमा हात बाँधेर बस्यौँ, दमनलाई सहेर यहाँ आएका छौँ ।’

राउतले आफ्ना मागहरु जनमत संग्रहबाट सम्बोधन गर्ने बाचा सरकारले गरेको सुनाए । २०६९ साल जेठ ७ गते काठमाडौँमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको स्मरण गर्दै उनले भने, ‘त्यसबेलाका मन्त्रीहरुले पनि आन्दोलनको संवेदनालाई सम्मान गर्नुभयो । बल प्रयोग गर्नुभएन । जसले गर्दा आन्दोलनले नकारात्मक मोड लिएन ।’

यसअघिका प्रधानमन्त्री, शेरबहादुर देउवा, सुशील कोइराला, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई पनि धन्यवादका पात्र भएको राउतले जिकिर गरे । ‘हामी बुद्धका सन्तान हौ । अहिंशा हाम्रो रौँ–रौँमा बसेको छ,’ उनले भने ।