स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बन्छ : मन्त्री मगर

स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बन्छ : मन्त्री मगर


चितवन – खानेपानीमन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताएकी छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि उनले अहिलेसम्म राष्ट्रिय गौरवका योजना धेरै नहुँदा समस्या आएको बताइन् ।

तराईका २२ जिल्लामा पानीको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन आवश्यक भएको बताउँदै मन्त्री मगरले अहिले केन्द्रीय सरकार र प्रदेश सरकारबीच जिम्मेवारी बाँडफाँट नहुँदा काममा समस्या आउने गरेको उल्लेख गरिन् ।

नारायणी नदीको पानी व्यवस्थापन गरेर स्वच्छ पिउने पानीको व्यवस्थापन गर्ने तयारी भइरहेको छ भन्दै उनले अहिले हरेक जिल्लामा रहेका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमन गर्ने क्रममा रहेको र अनुगमनपछि कार्ययोजना बनाएर अघि बढ्ने जानकारी गराइन् ।

चितवनमा पनि केही वर्षपछि पानीको समस्या हुने भएकाले यसका लागि कर्मचारीहरुलाई दीर्घकालीन योजना बनाउन र फोहर प्रशोधन गर्दै समाजलाई सफा राख्नका लागि पहल गर्न पनि उनले कर्मचारीलाई निर्देशन दिइन् । मन्त्री मगरले आजै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कञ्चनपुर जिल्लाबाट उपचार गराउन आएका १४ बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिइन् ।
रासस