काठमाडौं -आइतबार राती पौने ११ बजे सकिएको मन्त्रिपरिषदको बैठकले २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण रद्द गरिदियो । मधेसी समाज अमेरिकाको निम्तो पाएका राउतलाई सरकारको नीति कार्यक्रम, बजेटलगायतका काम छाडेर जान नहुने निर्णयसहित रोकिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताए । तर राउतको आचरण र पृथकतावादीसँगको हेलमेलका कारण उनको भ्रमण रद्द गरिएको हो ।
मधेसमा पृथकतावादी आन्दोलन चर्काइरहेका सीके राउतँसको साँठगाँठ, मधेस विभाजनका विषयमा अनौपचारिक बैठकमा सहभागीता रहने गरेको रिपोर्ट प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुगेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा खुलेरै नेपालको संविधानको बिरोध र मधेसीमाथि दमन भइरहेको भनी गुनासो गरेको दण्ड प्रधानमन्त्री ओलीले दिएका हुन् ।
‘डोनल्ड ट्रम्पले बोलाएको हो ? कसले बोलाएको ? के प्रयोजनका लागि बोलाएको हो ? अहिले जान मिल्दैन, यो प्रस्तावलाई अस्वीकार गरिएको छ’, बैठकमा प्रधानमन्त्री ओलीले भने,‘सारा काम लथालिङ्ग छाडेर मधेसको नाममा विदेशमा रहेका मधेसीले बोलाएको भेलामा जान मिल्दैन ।’
संघीय संसदमा मोदी भ्रमणबारेको जानकारी दिँदा पनि राउतसँग चिढिएका प्रधानमन्त्री ओलीले केही कमजोरी भएको स्वीकार गरेका थिए । राउतका कारण आफ्नो पनि आलोचना बढेपछि उनलाई अमेरिका भ्रमणमा रोक लगाएर दण्डित गरिएको हो ।
सरकार स्थिर राजनीतिक व्यवस्थाको लक्ष्य लिएर अघि बढिरहेका बेला अमेरिकी डोनरहरूले मधेसको नाममा कार्यक्रम गर्ने र राज्य संयन्त्रलाई प्रभावित पार्नेगरी राउतलाई बोलाइएको ठहर ओलीले गरेका छन् । भ्रमण रोक्न नहुने विषयमा कुनै मन्त्रीले पनि बोलेका थिएनन् । ‘विदेशी पाहुना आउँदा हुर्मत लिनेलाई अझ हुर्मत लिनका लागि बाहिर किन जान दिनु ? आफ्नो जिम्मेबारी पुरा गर्दा हुन्छ ।’, स्रोतले भन्यो,‘बाहिर जाने नै भए मुख्यमन्त्री छाडेर गए हुने सम्मका कुरा उठेका थिए ।’
राउतले मोदी भ्रमणका बेला गरेको भाषणमा त्रुटी नभएको दाबी गर्दै आएका थिए । आक्रामक भएर प्रस्तुत भएका राउतले केन्द्र सरकारलाई चुनौति दिने हिसाबले नै प्रस्तुत भएपछि ओलीले शक्ति देखाएका हुन् । ‘राज्य सरकारले धेरै घुर्की देखाउने, ताकत देखाउने, केन्द्र सरकार केही होइन जस्तो ठान्ने, प्रधानमन्त्रीले बोलाएका पाहुनाका अगाडी लम्पसार पर्ने कि सहयोग गर्ने ?’, स्रोतले भन्यो,‘यसैकारण पनि उनलाई रोकिएको हो ।’
राउतको सीके राउतसँगको हेलमेल, मधेस विखण्डनको हिसाबले आउने अभिव्यक्तिलाई तत्काल बन्द गर्न आन्तरिक निर्देशन समेत जारी गरिएको छ । यस सन्दर्भमा राउतको पार्टी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पनि सजग गराइएको थियो ।
स्पष्ट बहुमतमा रहेको नेकपाका अध्यक्ष ओली नेतृत्वको सरकारलाई राउतको पार्टीले विश्वासको मत दिएको छ । ‘विश्वासको मत पनि दिने । संविधान संशोधन हुन्छ भन्दाभन्दै राष्ट्रको बेइज्जत गर्नेले सजाय पाउने कि नपाउने ?’, स्रोतले भन्यो,‘उनलाई नेकपाका २ नम्बरका प्रदेश सांसदले पनि सहयोग गरेका छन् ।’
ओलीको यो कदमको मधेसवादी फोरम र राष्ट्रिय जनता पार्टीले विरोध गरेका छन् । भ्रमण रोक्नुको कारणबारे जानकारी लिने फोरम र राजपाले जनाएको छ ।
मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एशोसीएशन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जाऊँ भनी सरकारसमक्ष अनुमति मागेका थिए । यसै विषयलाई आधार बनाएर धेरै चम्किए २ नम्बर प्रदेश सरकार खारेज गरी राष्ट्रपति शासन लागु गर्नेसम्मको सोचमा प्रधानमन्त्री ओली पुगेका छन् । आजको जनप्रहार साप्ताहिकमा समाचार छ ।
प्रतिक्रिया