अर्काे भ्रष्टाचार काण्ड ब्युतियो, छानबिन गरी हदैसम्म कारवाही गर्न अख्तियारलाई निर्देशन

अर्काे भ्रष्टाचार काण्ड ब्युतियो, छानबिन गरी हदैसम्म कारवाही गर्न अख्तियारलाई निर्देशन


काठमाण्डु – सार्वजनिक लेखा समितिले टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

लेखा समितिको आज बुधबार बसेको बैठकले खरिद प्रक्रियामा संलग्नमाथि सूक्ष्म अनुसन्धान गर्न आयोगलाई निर्देशन दिएको छ ।

समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्सको खरिद र कार्यान्वयन प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिँदै सुक्ष्म ढंगले अनुसन्धान गर्न निर्देशन दिए ।

उनले भने, ‘हालसम्म सम्पादित कार्य यथास्थितिमा राख्दै यसमाथि सूक्ष्म विश्लेषण र अनुसन्धान गर्नपर्ने देखिएको छ । अनुसन्धान गरेर शीघ्र निष्कर्षमा पुगेर प्रत्येक ३० दिनमा समितिलाई जानकारी दिन निर्देश गर्दछु ।’

लेबनानी कम्पनीसँग टेरामक्सको हार्डवेयर र सफ्टवेयर खरिद प्रक्रियामा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अधिकारको दुरुपयोग गरे/नगरेको सम्बन्धमा अनुसन्धान गर्न आयोगलाई निर्देशन दिइएको छ ।

खरिद प्रक्रियामा संलग्नले राज्यलाई हानि–नोक्सानी हुने गरी सम्झौता गरेको पाइएमा सम्बन्धित पदाधिकारीलाई हदैसम्मको कारबाही गर्नुपर्ने समितिले जनाएको छ ।

टेरामक्स खरिद प्रक्रियामा समितिले १५ वटा प्रश्न उठाएको छ । ती प्रश्नको जवाफ नपाइएसम्म सम्पूर्ण प्रक्रियालाई स्थगित गर्दै अनुसन्धान गर्न आयोगलाई निर्देशन दिएको छ ।