द्वन्द्वकालमा ज्यान गुमाएका २८ सय बढी सुरक्षाकर्मीलाई सहिद घोषणा

द्वन्द्वकालमा ज्यान गुमाएका २८ सय बढी सुरक्षाकर्मीलाई सहिद घोषणा


काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषदको बैठकले द्वन्द्वको क्रममा मारिएका २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।

मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई सहिद घोषणा गरेको हो ।

मंगलबार सशस्त्र प्रहरी बलको १८ औं वार्षिकोत्सव समारोहलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २८०७ जनालाई सहिद घोषणा गरेको जानकारी गराएका हुन् ।

देशका लागि ज्यान दिनेहरुका परिवारमा जुन असमानता थियो त्यो असमानता सोमबारको क्याबिनेटको निर्णयसँगै हटेको भन्दै प्रधानमन्त्री ओलीले राज्यले सबैलाई समान व्यवहार गर्ने बताए ।  द्वन्द्वका क्रममा एकले अर्काको अस्तित्व नामेट पार्ने अवस्था रहेको भएपनि अहिले एकले अर्कालाई सम्मान गर्ने वातावरण बन्दै देश बनाउने भावना प्रकट भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार पनि गर्न नदिने बताए। ’भ्रष्टाचार सहिँदैन, म गर्दिन र गर्न दिन्न। कसैले गरेको पाए अनुहार हेरेर व्यवहार हुँदैन’, उनले भने। अख्तियारलाई इङकित गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण गर्न हातमा अधिकार लिएर बसेकाले स्वयम् भ्रष्टाचार गरेकोमा चिन्ता व्यक्त गरे।