काठमाण्डु-पार्टीलाई थप सक्रिय बनाउने उद्देश्यका साथ नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियान फेरि सुरु हुन लागेको छ ।
बाढीपहिरोको विपद्पछि असोज १३ गतेदेखि रोकिएको सय दिने अभियान छठपछि पुनः गर्न लागेको कांग्रेसले जनाएको छ । असोज १२ र १३ गते आएको बाढीपहिरोका कारण कार्यसम्पादन समितिले अभियान स्थगित गरेको थियो । बाढीपहिरोले वितण्डा मच्चाएपछि कांग्रेसले अभियान स्थगित गरेर राहत र उद्धारमा लाग्न कार्यकर्तालाई निर्देशन दिएको थियो ।
स्थगित अभियान छठ लगतै सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बाढीपहिरोका कारण रोकिएको अभियान चाडपर्व सकिएपछि फेरि सुरु हुनेछ ।
बाढीपहिरोका कारण उपत्यकासहित केही जिल्लामा अभियान रोकिए पनि हिमाली जिल्लामा अभियान जारी छ ।
अभियानबाट पार्टीको संगठन चलायमान हुने विश्वास कांग्रेसको छ । पार्टीले अघि सारेको नीति, एमालेसँगको सहकार्य, सहकारी प्रकरणलगायतको विषय जनतामाझ लैजान कांग्रेसले अभियान चलाएको हो ।
मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन केन्द्रित गरेर चुनाव हुने क्षेत्रमा अभियानमा खटिएका प्रतिनिधिले काम गर्ने मुख्यसचिव पौडेलले बताए ।
प्रतिक्रिया