कांग्रेस संसदीय दलको नेताका लागि २१ गते चुनाव

कांग्रेस संसदीय दलको नेताका लागि २१ गते चुनाव


काठमाडौं–नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मिति तोकिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकले फागुन २१ गते पार्टी संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो।

सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकले पार्टी संसदीय दलको विधान अनुमोदन गर्दै दलका नेता चयनका लागि ३ सदस्यीय निर्वाचन समिति समेत बनाएको छ।

यही २१ गते दलको नेता चयनका लागि निर्वाचन गर्ने निर्णय लिइएको पार्टीका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेले जानकारी दिए। चीनकाजी श्रेष्ठको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्यहरुमा नविन्द्रराज जोशी र भिष्मराज आङदेम्बे रहेका छन्।

संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वभाविक उम्मेदवार रहेका छन् भने पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि उम्मेदारी दिने घोषणा गरेका छन्।