अबका चुनावमा कांग्रेसले हँसियाहथौडा बोक्दैन : महामन्त्री थापा

अबका चुनावमा कांग्रेसले हँसियाहथौडा बोक्दैन : महामन्त्री थापा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री थापाले कांग्रेसले अबका चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने बताएका छन् ।

बिहीबार मधेश प्रदेश सम्मेलनमा बोल्दै उनले आगामी चुनावमा गठबन्धन नगर्ने कुरा लेखेर राख्न सहभागीलाई आग्रह गरे ।

उनले भने, ‘लेखेर राख्नूस्, कुनै पनि कांग्रेसले अर्को चुनावमा छाता ओढ्नेवाला छैन । कुनै पनि कांग्रेसले अर्को चुनावमा साइकल चलाउनेवाला छैन । हँसियाहथौडा बोक्नेवाला छैन । कांग्रेसले केवल रुख हेर्नेवाला छ । रुखमा छाप लगाउनेवाला छ । गाछीमा छाप लगाउने कांग्रेस बनाउनुपर्नेछ ।’

महामन्त्री थापाले २०८४ आउन ४ वर्ष बाँकी रहेकाले त्यसको चिन्ता लिनु नपर्ने बताए । ‘कांग्रेसले जितेका पालिका, प्रदेश सरकार तथा संघीय सरकारबाट काम गरेर देखाउनुपर्छ,’ उनले भने ।

जनताले हरेक दिन बिहान उठ्दै गर्दै नयाँ–नयाँ काण्ड सुन्ने गरेको तर जनतालाई पछाडि फर्काउन चाहनेहरूले त्यसैलाई देखाएर गणतन्त्र खारेज गर्नुपर्ने भन्ने गरेको उनले बताए ।