कांग्रेसभित्र नयाँ ‘कोर्स’ : हिन्दूराष्ट्र नेपाल स्थापनाका लागि महाअभियानको घोषणा

कांग्रेसभित्र नयाँ ‘कोर्स’ : हिन्दूराष्ट्र नेपाल स्थापनाका लागि महाअभियानको घोषणा


काठमाण्डु – नेपाली कांग्रेसको आसन्न महासमिति बैठकको पूर्व सन्ध्यामा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको घोषणा गरिएको छ ।

शनिबार राजधानी काठमाण्डुको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरिएको छ ।

हिन्दूराष्ट्र नेपालको महाअभियानमा साथ दिनका लागि उनले पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित सबैलाई आग्रह गरेका छन् ।

अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य एवं विराटनगर नगरपालिकाका पूर्व प्रमुख भीम पराजुली र केन्द्रीय सदस्य एवं सांसद मुक्ताकुमारी यादव तोकिएका छन् ।

यसअघि कांग्रेसको केन्द्रीय समिति बैठकमा पनि हिन्दूराष्ट्रको एजेन्डा उठेको थियो । पार्टी सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा उभिनुपर्ने भन्दै २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरेर बैठकमा बुझाएका थिए ।

सोमबारदेखि शुरू हुने महासमितिको बैठकमा पनि हिन्दूराष्ट्रको एजेण्डा उठाउन सक्रियता बढाइएको छ ।