गोदावरीमा कांग्रेस महासमिति बैठक सुरु, यी प्रस्तावमा हुनेछ बहस

गोदावरीमा कांग्रेस महासमिति बैठक सुरु, यी प्रस्तावमा हुनेछ बहस


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सुरु भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक शुरु भएको छ ।

आजदेखि शुरु भएको बैठक फागुन १० गतेसम्म चल्नेछ । कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन गरेका छन् ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्ता समेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्ने जनाइएको छ ।

यी प्रस्तावमाथि ४ वटा समूह बनाएर छलफल गरिने, हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी समूह बनाइने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधिसभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार ७८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुनेछन् ।