गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेस : सिंहदरबारमा वार्ता सँगसँगै सडकमा राँके जुलुस

गृहमन्त्री लामिछानेविरुद्ध कांग्रेस : सिंहदरबारमा वार्ता सँगसँगै सडकमा राँके जुलुस


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एकातिर वार्ता र अर्काेतिर सडक आन्दोलनलाई सँगसँगै अगाडि बढाएको छ ।

कांग्रेसको मागअनुसार सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कार्यादेशबारे कार्यदलले छलफल चलाइरहेका बेला कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले गृहमन्त्री लामिछानेविरुद्ध सडक प्रदर्शन गर्दै राँके जुलुस गरेको छ ।

शनिबार कांग्रेस नेताहरू सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहभागी सिंहदरबारमा भएको कार्यदलको बैठकले गृहमन्त्री लामिछानेको नाम किटान नगरी उनी सम्बद्ध कम्पनीको नाम कार्यादेशमा उल्लेख गर्ने सहमति जुटाएको चर्चा चलिरहेका बेला तरुण दलले प्रदर्शन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी संयोजक रहेको कार्यदल बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल लगायत उपस्थित थिए ।

कार्यदलले जुटाएको सहमतिलाई अन्तिम टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बोलाउने तयारी छ ।

अर्काेतिर तरुण दलको अगुवाइमा शनिबार काठमाण्डुमा राँके जुलुस भएको छ । कांग्रेसले आईतबार काठमाण्डुमा गर्न लागेको बृहत् प्रदर्शनको पूर्व सन्ध्यामा शनिबार प्रदर्शनी मार्गमा राँके जुलुस निकालिएको छ । प्रदर्शनकारीले सरकार र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।

कांग्रेसले आईतबार काठमाण्डुको भृकुटीमण्डपमा सरकारविरुद्ध बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ । गत बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको मागलगायत विषयमा सडक प्रदर्शन गर्ने निर्णय गरेको छ ।