काठमाण्डु – नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले पार्टीले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी गरेका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्दम्बेले आदिवासी/जनजाति समुदायका प्रतिनिधिलाई उचित स्थान र जिम्मेवारी दिन नसक्दा पहिचान गुमाउँदै गएको उल्लेख गरे ।
‘पार्टीभित्र पहिचानको कुरा गर्ने बित्तिकै एकखाले नेताहरूलाई यसले जातीयताको मात्र कुरा गर्यो भन्ने लाग्छ तर त्यस्तो होइन, पहिचान भनेको जातिको र व्यक्तिको पनि हुन्छ । पार्टीको पनि हुन्छ । नेपाली कांग्रेसको पनि आफ्नै पहिचान छ । त्यो हामीले भुल्नु भएन,’ सहमहामन्त्री आङ्दम्बेले भने, ‘हिमाल, पहाड र तराईका संवेदनशीलताहरूको एकमुष्ठ निष्कर्ष नै पार्टीको पहिचान हो ।’
सहमहामन्त्री आङ्देम्बेले पार्टीले आफ्नो पहिचान चिन्ने कोसिस नगर्दा थप कमजोर बन्दै गएको उल्लेख गरे । संघ, प्रदेश र स्थानीय तहमा पहिलो पार्टीको रूपमा रहे पनि त्यसको अनुभूति गर्न नसक्नुको प्रमुख कारण नै कमजोर पहिचान भएको उनले बताए ।
‘सबै जातजाति र समुदायको प्रतिनिधित्व भए पार्टी हारे पनि जितेको महसूस गर्न सकिन्छ । थप ऊर्जा र उत्साहका साथ आउने दिनलाई जीतमा परिणत गर्न सजिलै सकिन्छ । त्यसकारण पार्टीले आफ्नो पहिचानको खोजी गर्न सक्नुपर्छ,’ उनले भने ।
प्रतिक्रिया