स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा कांग्रेसले फोटो प्रदर्शनी गर्ने

स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा कांग्रेसले फोटो प्रदर्शनी गर्ने


काठमाण्डु – नेपाली कांग्रेसले पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै असार १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी आयोजना गर्ने जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने प्रदर्शनीमा विभिन्न विषयमा विज्ञ वक्ताहरूको विमर्श कार्यक्रम हुने प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

मुलुकमा गणतन्त्र स्थापनाका लागि कोइरालाले खेलेको भूमिका, योगदान र संघर्षलाई फोटो प्रदर्शनीका माध्यमबाट उजागर गर्न खोजिएको विश्वकर्माले बताए ।

नेपाली कांग्रेसका अग्रज नेताहरूले मुलुकमा क्रान्ति र शान्तिका लागि गरेका कामहरूबारे पनि फोटो प्रदर्शनीमार्फत् जानकारी गराउने उनले जानकारी दिए ।