काठमाण्डु – नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सबै फाइल खोल्न चुनौती दिएका छन् ।
बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले गृहमन्त्री लामिछानेले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभई फाइल भए खोल्न चुनौती दिए ।
उनले धोका खाएका २ दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको बताए।
उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौं । चाँडोभन्दा चाँडो सरकारले निकास दिनुपर्यो । चाँडोभन्दा चाँडो सरकारमा जान चाहन्छौं । यो स्पष्ट कुरा हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौं । खोलौं न सबै फाइल खोलौं । तपाईंहरूसँग प्रहरी प्रशासन छ, हामी तयार छौं । फाइल खोल्ने धम्की नदिऔं । ब्ल्याकमेलिङको राजनीतिक नगरौं । कांग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, के–के खोल्ने हो खोलिन्छन् ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवैतिरको बल आफैं खेल्छु भन्ने सोचेपछि अहिलेको परिणाम आएको उनले बताए ।
प्रतिक्रिया