प्रधानमन्त्री बन्न लागेका एमाले अध्यक्ष ओलीको कांग्रेसभित्रबाट आलोचना !

प्रधानमन्त्री बन्न लागेका एमाले अध्यक्ष ओलीको कांग्रेसभित्रबाट आलोचना !


काठमाण्डु – नेकपा माओवादी केन्द्रसँगको सत्ता सहयात्रा तोडेर नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कांग्रेसभित्रैबाट आलोचना भएको छ ।

कांग्रेसका सांसद प्रदीप पौडेलले ओलीले विगतमा प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति नरहेको आरोप लगाए ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले भने, ‘केपी ओलीज्यूलाई २ वटा अवसर प्राप्त भएको छ । दुईतिहाइको प्रधानमन्त्री हुनुभयो, त्योभन्दा अघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त गर्‍यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन ।’

एमालेले भने अध्यक्ष ओली नेतृत्वको सरकारका पालामा थुप्रै दीर्घकालीन सुधारका काम भएको विवरण सार्वजनिक गर्दै आएको छ ।

कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बन्ने तयारीमा रहेका बेला कांग्रेसकै सांसद पौडेलले यसरी आलोचनामा उत्रिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कांग्रेसका अन्य नेताहरूले एमालेसँगको गठबन्धनलाई सकारात्मक रूपमा लिएर कार्यान्वयन गर्ने बताइरहेका बेला उनले आलोचनात्मक अभिव्यक्ति दिएका छन् ।

सांसद पौडेलले ओली जीवन र राजनीतिको उत्तराद्र्धमा रहेकाले देश र जनताका लागि काम गर्न आग्रह गरेका छन् ।