नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने अभियान सक्रिय, कांग्रेस सभापति देउवालाई ज्ञापनपत्र

नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने अभियान सक्रिय, कांग्रेस सभापति देउवालाई ज्ञापनपत्र


काठमाण्डु – नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान केन्द्रीय समन्वय समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा महाअभियानका संयोजक शंकर भण्डारीले शुक्रबार बिहान बुझाएको ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गरिएको छ ।

‘नेपाली भूमिमा पादुर्भाव भएको बौद्ध एवम् किराँत धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने नेपाली जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल् पुग्ने गरी ११ वैशाख २०६३ मा पुनःस्थापित संसद्को ४ जेष्ठ २०६३ को घोषणा र अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको विषयप्रति गम्भीर बन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरूको एउटा ठूलो समूहले २०७१ साल कार्तिक २० गते काठमाण्डुमा नेपाली कांग्रेस, वैदिक सनातन (हिन्दू) राष्ट्र स्थापना महाअभियान गठन गरी संविधान सभाबाट संविधान घोषणा गर्दा धर्मनिरपेक्ष राष्ट्रको प्रावधानलाई खारेज गरी धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दू) राष्ट्र घोषणा गर्न माग गर्दै पार्टी भित्र र बाहिरबाट दबाब सिर्जना गर्न अभियान सञ्चालन गरेको गौरवपूर्ण ऐतिहासिक तथ्यको यो अवसरमा स्मरण गराउँदछु,’ ज्ञापनपत्रमा भनिएको छ ।

नेपाली कांग्रेसको नवलपरासी जिल्लाको त्रिवेणी धाममा बसेको महासमिति बैठक, ५ वर्ष पहिले काठमाण्डुमा सम्पन्न महासमिति बैठकमा व्यापक रूपमा सनातन हिन्दूराष्ट्रको पक्षमा आवाज उठेको, २०८० फागुन ७–१० मा गोदावरी ललितपुरमा सम्पन्न पछिल्लो महासमिति बैठकमा उपस्थित महासमिति सदस्यहरूको बहुमतले वैदिक सनातन हिन्दूराष्ट्र नेपालको पक्षमा हस्ताक्षरसहित गरेको मागलाई महासमिति बैठकस्थल गोदावरीमा बसेको पदाधिकारीहरूको बैठकले नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको तर्फबाट यसका संयोजक केन्द्रीय सदस्य शंकर भण्डारीलाई महासमिति बैठकको पूर्णसत्रमा महाअभियानको बहुमतको हस्ताक्षर सहितको मागलाई प्रस्तुत गर्न दिने निर्णय गरे बमोजिम संयोजक शंकर भण्डारीले महासमिति बैठकको पूर्ण सत्रमा महासमितिका बहुमत सदस्यले हिन्दूराष्ट्रको पक्षमा गरेको हस्ताक्षर सहितको मागलाई निर्णयार्थ पेश गरिएको तथ्यतर्फ सभापतिमार्फत जारी केन्द्रीय कार्यसमिति बैठकको ध्यानाकर्षण गराइएको छ ।

महासमिति बैठकले महासमिति बैठकमा समूहगत रूपमा भएका छलफलमा महासमिति सदस्यहरूले दिएको सुझावलाई समेटेर पछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले राजनीतिक, आर्थिक लगायत सबै प्रस्तावलाई अन्तिम रूप दिने भन्ने निर्णय गरेबमोजिम जारी केन्द्रीय कार्यसमिति बैठकमा व्यापक छलफल भइरहेको अवस्थामा आमनेपाली जनताको व्यापक सरोकारको विषय बनेको महासमिति बैठकको बन्दसत्रको समूहगत छलफलमा व्यापक रूपमा हिन्दूराष्ट्रको पक्षमा मत प्रकट भएको, महासमिति बैठकमा बहुमत महासमिति सदस्यहरूको हस्ताक्षरसहित हिन्दूराष्ट्र पक्षमा अभिव्यक्त अभिमतलाई सम्बोधन गरी जारी केन्द्रीय कार्यसमिति वैठकले नेपाललाई वैदिक हिन्दूराष्ट्र नेपाल स्थापनाको विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै संविधान संशोधनको एजेण्डा बनाउन नेपाली कांग्रेस अग्रसर बनोस भन्ने माग सभापति देउवामार्फत केन्द्रीय कार्यसमिति बैठकमा विशेष प्रस्ताव पेश गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘राष्ट्रिय महत्त्वको र व्यापक जनसरोकारको विषयमा पार्टीले समय छँदै उपयुक्त निर्णय लिन सकेन, यसले भविष्यमा पार्टीलाई पुग्नसक्ने क्षतिप्रति अहिले नै गहिरो चासो र चिन्ता लिन पार्टी समग्र कार्यकर्ताहरूलाई पनि विशेष आग्रह गर्दछु ।’